१८ भाद्र २०८३, बिहीबार
,
Latest
पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग विपद् प्रतिकार्यका लागि १५ स्थानीय तहलाई पौने ७ करोड रुपैयाँ पठाइयो, कुनलाई कति ? भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारद्वारा विशेष राहत प्याकेज घोषणा कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता



अ+ अ-

सिरहा। सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित जिल्लाका ६ विद्यालयमा ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको थियो । विभिन्न कारणले रोकिएको प्रतियोगिता आठ वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।”

प्रतियोगिताको मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुल रहेको छ । खेलहरू लहान नगरपालिका–१० स्थित खुला खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा जम्मा १० टोली सहभागी हुनेछन् भने कूल १५ खेल खेलाइनेछ, जसमध्ये पाँच खेल छात्रातर्फका रहने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुलका प्रबन्धक आयुश हमाल ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले आठ वर्षपछि सञ्चालन हुन लागेको यस प्रतियोगिताले बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय फुटबल सङ्घका पूर्वाञ्चल अध्यक्ष तथा राष्ट्रिय ह्यान्डबल सङ्घका पूर्वकेन्द्रीय सदस्य पाण्डव हमाल ठकुरीले प्रतियोगिताले जिल्लाको खेल विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेल आयोजकका अनुसार, सोमबार लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ भने पुस १२ गते युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले समापन गर्नुहुने छ । प्रतियोगिताको विजेताले रु १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । रासस