६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता



अ+ अ-

सिरहा। सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित जिल्लाका ६ विद्यालयमा ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको थियो । विभिन्न कारणले रोकिएको प्रतियोगिता आठ वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।”

प्रतियोगिताको मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुल रहेको छ । खेलहरू लहान नगरपालिका–१० स्थित खुला खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा जम्मा १० टोली सहभागी हुनेछन् भने कूल १५ खेल खेलाइनेछ, जसमध्ये पाँच खेल छात्रातर्फका रहने आयोजकले जनाएको छ ।

मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुलका प्रबन्धक आयुश हमाल ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो । उहाँले आठ वर्षपछि सञ्चालन हुन लागेको यस प्रतियोगिताले बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय फुटबल सङ्घका पूर्वाञ्चल अध्यक्ष तथा राष्ट्रिय ह्यान्डबल सङ्घका पूर्वकेन्द्रीय सदस्य पाण्डव हमाल ठकुरीले प्रतियोगिताले जिल्लाको खेल विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेल आयोजकका अनुसार, सोमबार लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ भने पुस १२ गते युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले समापन गर्नुहुने छ । प्रतियोगिताको विजेताले रु १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । रासस