काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप’को उपाधिका लागि एपीएफ र भारतको इस्ट बङ्गाल प्रतिस्पर्धा गर्दैछन् ।
फाइनल खेल आज (शनिबार) साँझ ५ः०० बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुँदैछ ।
एपीएफका प्रशिक्षक जिवेश पाण्डेले फाइनल खेलमा कमजोरी सुधार गर्दै लैजाने उल्लेख गर्दै त्यसका लागि सोहीअनुरूप तालिम गरिएको बताए ।
यस्तै, एपीएफकी कप्तान अनिता बस्नेतले क्लबभन्दा पनि देशलाई नै प्रतिनिधित्व गरिरहेको जनाउँदै इस्ट बङ्गालको सामना गर्न तयार रहेको बताइन् ।
इस्ट बङ्गालका प्रशिक्षक र कप्तानले पनि फाइनल खेलमा आफ्नोतर्फबाट उत्कृष्ट खेल हुने बताए ।
प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लबहरू सहभागी थिए । यही मङ्सिर १९ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बङ्गाल, बङ्गलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता जनाएका थिए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गरेको प्रतियोगिताको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।










