६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना’ सार्वजनिक



अ+ अ-

काठमाडौं – माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना ‘ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ। अडियो प्रोडक्सन तथा मिक्सिङ मास्टरिङ एस्थर रिजनको रहेको छ।

गीतको गायन शैली, शब्द तथा दृश्यात्मक प्रस्तुतीकरणमा प्रेमिल भावनालाई सुन्दर ढङ्गले उतारिएको छ। युवा जोडी आकृति राजभण्डारी र अबिषेक खड्काबीचको आत्मीयता, आपसी नजिकपन र उत्साहपूर्ण मुडले गीतलाई अझ जीवन्त र प्रभावशाली बनाएको छ।

यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल …’को सफलतापछि नयाँ गीतप्रति पनि दर्शकले उत्तिकै चासो दिने अपेक्षा गरिएको छ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्रबाट चिनिएका निर्देशक दिनेश राउत निर्देशित यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्।

साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

पछिल्ला वर्षमा ‘प्रसाद’, प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि राउत ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्।

सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।