काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
केन्द्रीय निर्वाचन आयोगले बन्दसत्र सुरु भएसँगै सार्वजनिक गरेको कार्यतालिकामा समय हेरफेर गरिएको हो।
केन्द्रीय निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिकाअनुसार आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने समय तोकिएको छ।
यसअघि प्रकाशित कार्यतालिकामा दरखास्त दर्ताको समय साढे १० बजेदेखि साढे १ बजेसम्म निर्धारण गरिएको थियो।
संशोधित तालिकाअनुसार दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन र निर्णय हुने जनाइएको छ। उम्मेदवारको नाम फिर्ता गर्ने समय आजै साँझ ५ बजेदेखि ६ बजेसम्म तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिनेछ। आयोगका अनुसार मतदान भने भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।










