२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै



फाइल फोटो
अ+ अ-

कैलाली।  कैलालीमा यस वर्ष ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कार्यक्षेत्र रहेको टीकापुर, लम्कीचुहा, भजनी, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिकामा उक्त हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिने भएको हो ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइ टीकापुरका आयोजना समन्वयनकर्ता भरतप्रसाद कँडेलका अनुसार यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गर्न लागिएको हो । चैते धानखेती गर्ने कृषक, निजी फार्म, समूह तथा सहकारीका लागि आवेदन माग गरिएको उहाँले बताउनुभयो ।

कँडेलले ५० प्रतिशत अनुदान सहयोगमा चैते धानखेती गर्ने किसानले न्यूनतम क्षेत्रफल पाँच कठ्ठामा खेती गर्नुपर्ने मापदण्डा तोकिएको जानकारी दिनुभयो । एकाइले यस वर्ष चैते धानखेतीका लागि आवेदन दिएका किसानमध्ये यसअघि सहयोग नपाएकालाई प्राथमिकता दिने जनाएको छ ।

उक्त आयोजनाको कार्यक्षेत्र रहेका चार नगरपालिका र तीन गाउँपालिका गरी सात स्थानीय तहमा खेती विस्तारका लागि यस वर्ष रु २५ लाख बजेट विनियोजन गरिएको आयोजना समन्वयकर्ता कँडेलले जानकारी दिनभयो । किसानलाई ५० प्रतिशत अनुदानमा आयोजनाले यन्त्र तथा आवश्यक उपकरण, बीउ, विषादीलगायत अन्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा एक हजार ५०० हेक्टरमा खेती गरिएकामा आठ हजार १०० मेट्रिकटन चैते धान उत्पादन भएको थियो ।

केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले सबैभन्दा जिल्लाका डुबान प्रभावित हुने क्षेत्र भजनी, जोशीपुर, कैलारीलगायत अन्य क्षेत्रका किसानले चैत धानखेती गर्दै आएका जानकारी दिनुभयो ।रासस