२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र



अ+ अ-

नेपालमा सन् १९५० को दशकमा औपचारिक रुपमा पर्यटन सुरु भएसँगै नेपाली पर्यटन क्षेत्रले विभिन्न राजनीतिक, प्राकृतिक तथा अन्य संकटहरुको सामना गर्नुपरेको अवस्था छ । नेपाल भ्रमण वर्ष १९९८ सफलतापूर्वक सम्पन्न भएपश्चात नेपाल पर्यटन बोर्डको स्थापना भएसँगै नेपालको पर्यटन क्षेत्रमा विभिन्न अवरोध सिर्जना भइरहेका छन् । त्यसपछि १० वर्ष लामो सशस्त्र माओवादी द्वन्द्व, २०७२ को महाभूकम्प, २०७६ चैतदेखि फैलिएको कोभिड–१९ महामारी हुँदै गत भदौको जेनजी आन्दोलनसम्म आइपुग्दा बोर्डले संयमताका साथ पर्यटन गतिविधि सञ्चालन गर्दै आएको छ ।

नेपाल बन्द, मधेश आन्दोलन, अखण्ड सुदूरपश्चिम आन्दोलन, थरुहट आन्दोलनलगायतका विभिन्न राजनीतिक समूहरुले निम्त्याउने संकटमा समेत बोर्डले धैर्यताका साथ निजी क्षेत्रलाई साथमा लिएर निर्वाध कार्य गर्दै आएको छ । बोर्डले हरेक संकटपछि पुनरुत्थानका लागि विशेष प्याकेज ल्याउँदै आएको छ । नेपाल भ्रमण वर्ष सन् २०११ का क्रममा बोर्डको सक्रियतामा सम्पूर्ण राजनीतिक दलहरलाई एक ठाउँमा ल्याएर मुलुकमा कुनै पनि बन्द–हड्ताल नगर्ने राजनीतिक प्रतिबद्धता गराइएको थियो । जसले गर्दा नेपालको आतिथ्यातामा पनि निखार आएको थियो ।

त्यसैगरी २०७२ मा आएको भूकम्प पश्चात पर्यटक आगमनमा उत्साहजनक वृद्धि भएको थियो । महाभूकम्पपश्चात बोर्डले ‘नेपाल नाउ’ अभियान सञ्चालन गरेको थियो । यससँगै ‘एक्स्पेरियन्स् नेपाल’, घुमफिर वर्षजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानहरु सञ्चालन गरिएको थियो । जसले नेपालको पर्यटनलाई फराकिलो र दीगो रुपमा विकास गर्न सहयोग पुगेको थियो ।

कोभिड–१९ महामारीले जब संसार ठप्प पार्‍यो, नेपालको पर्यटन पनि अचानक अँध्यारोमा डुब्यो । हिमाल, संस्कृति र आतिथ्यको देश कहलिएको नेपालका सडकमा यात्रुका झोला हराए । पर्यटकीय क्षेत्र ठमेलका गल्लीहरूमा सन्नाटा छायो । सगरमाथा मार्गमा विदेशी पदयात्रीहरूको पाइलाका चाल सुनिन छोडियो । महामारीअघि वार्षिक १२ लाख पर्यटक आउने देशमा आगमन दर एक्कासी ८० प्रतिशतले घट्यो । आर्थिक वर्ष ०७५–०७६ मा ७५ हजार ३७५.१ मिलियन वैदेशिक मुद्रा आम्दानी गर्ने पर्यटन क्षेत्र ०७७–०७८ मा घटेर जम्मा ७,२६६.३ मिलियन अमेरिकी डलरमा सीमित रह्यो ।
नेपाल भ्रमण वर्ष २०२० स्थगित हुनु केवल एक अभियानको अन्त्य थिएन । यो देशको पर्यटन आत्मविश्वासमा परेको सबैभन्दा ठूलो घाउ थियो । एयरलाइन्सहरू बन्द भए । गाइडहरू रोजगारीविहीन बने । होटलका ढोका लामो समयसम्म बन्द भयो । तर, सबैको मनमा एउटा कुरा अझै बाँकी थियो—नेपाल फेरि उठ्नेछ ।

तीन वर्षपछि सन् २०२३ तिर, त्यो भविष्यवाणी हौसला बन्न थाल्यो । विमानस्थलमा यात्रुका लाइन देखिन थाले । सगरमाथा क्षेत्रका पदमार्ग फेरि जिउँदा बने । पोखराका तालमा विदेशीहरु डुङ्गामा तैरिन थाले । नेपाल फेरि मुस्कुराउँदै थियो । तर पुनरुत्थानको बाटो लामो र कठिन रह्यो । गत वसन्तमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतले उडान तालिका घटायो। केही महिनासम्म अन्तर्राष्ट्रिय यात्रुका योजना प्रभावित भए । उडान र गन्तव्यबीचको दूरी केवल हावामा होइन, विश्वासमा पनि बढ्न थाल्यो ।

त्यो विश्वास फेरि जुट्दै गर्दा, गत भदौ २३ र २४ गतेको “जेन जी आन्दोलन”ले पर्यटनमा अर्को धक्का दियो । दुई दिनको आन्दोलनले देशभरको होटल उद्योग, रिसोर्ट र क्यासिनोहरूमा करिब २५ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍यायो । करिब २५ सयले प्रत्यक्ष रोजगारी गुमाए र देशले फेरि अनुभव गर्‍यो कि संकट केवल बाहिरबाट होइन, भित्रबाट पनि आउँछ । प्रत्यक्ष रुपमा पर्यटन आगमन १८.३ प्रतिशतले घट्यो । तर, यो पटक देश असहाय थिएन । महामारीले सिकाएको थियो—संकटले उडान रोक्न सक्छ, तर मनोबल होइन ।

बोर्डले यस्तो संकट बारम्बार ब्यहोरेकाले त्यस्तो बेला चाहिने संयन्त्र तयार गरेको थियो, क्राइसिस कम्युनिकेसन म्यानेजमेन्ट युनिट । बोर्डको यो संयन्त्र सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै विदेशी पर्यटकको सुरक्षामा जुट्यो। संकटमा फेसर बेसहारा बनेका यात्रुहरूलाई सुरक्षित रूपमा फर्काउने व्यवस्था गर्यो । हामीले समयमै स्थिति अद्यावधिक गर्दै विश्वलाई सन्देश पठायौँ कि नेपाल स्थिर छ, सुरक्षित छ र खुला छ ।

त्यो सन्देश केवल शब्दमा सीमित रहेन । बोर्डले निजी क्षेत्रसँग समन्वय गर्दै मनोबल उठाउन पहल गर्‍यो । संकटबीच पनि पर्यटन व्यवसायीहरूलाई कानुनी, नीतिगत झन्झट समाधानका लागि सरकारसँग संवाद गर्‍यो । त्यस क्रममा प्रधानमन्त्री र निजी उद्यमीहरू एउटै मञ्चमा उभिएर “पर्यटन संवाद” सुरु भयो । जसको साझा लक्ष्य थियो, देशको पर्यटन पुनरुत्थान ।

नेपालको पर्यटनले यस्ता घाउ पहिले पनि सहेको छ । १० वर्ष लामो सशस्त्र द्वन्द्व, मधेश आन्दोलन, २०७२ को भूकम्प र महामारी—हरेक अवरोधले उद्योगलाई हल्लायो । तर, हरेक संकटले एउटा नयाँ चेतना पनि दियो । भूकम्पपछिको ‘नेपालनाउ’ अभियानले विश्वलाई सन्देश दियो—नेपाल खुला छ । अझ सुन्दर छ । त्यसपछि ‘एक्सपेरियन्स् नेपाल’ र “घुमफिर वर्ष” जस्ता कार्यक्रमले विदेशी मात्र होइन, नेपालीलाई पनि आफ्नो मुलुक पुन: खोज्न प्रेरित गरे ।

महामारीपछिको समयले अर्को युगको सुरुवात गर्‍यो—डिजिटल युग । बोर्डले विश्व बजारमा आफ्नो सन्देश पुर्‍याउन नयाँ माध्यम रोज्यो । भ्लगर्स, इन्फ्ल्युन्सर र अन्तर्राष्ट्रिय पत्रकारहरूलाई नेपाल भ्रमण गराइ उनीहरूको अनुभवलाई टिकटक, युट्युब र इन्स्टाग्रममार्फत फैलाउने रणनीति लिइयो । बोर्डले प्रमुख गन्तव्यहरूबाट यी सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्‍यो । नेपालनाउ नामक अभियानमार्फत यात्रुका अनुभवहरू साझा गर्‍यो । यसले विदेशीहरूलाई मात्र होइन, स्थानीयलाई पनि आत्मविश्वास दियो कि—नेपालको कथा फेरि सुनिँदै छ ।

आर्थिक र जनसंख्या दुवै हिसाबले बलिया हाम्रा दुई छिमेकी भारत र चीन नेपालको प्राथमिकतामा छँदै छन् । बोर्डले आफ्नो वार्षिक कार्यक्रममा यी दुई छिमेकी बजारलाई सबैभन्दा महत्वपूर्ण मानेको छ । चालु आर्थिक वर्षमा भारतमा पर्यटन कार्यालय स्थापना गर्ने तयारी भइरहेको छ, जसले नियमित प्रचार, सहकार्य, थप अध्ययन र यात्रा सहज बनाउनेछ । चीनबाट पर्यटक बढाउन पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सिधा उडानको पहल जारी छ । यी योजना केवल यात्रु बढाउने रणनीति मात्र होइनन्, दुई विशाल छिमेकीसँग दीगो सम्बन्ध निर्माण गर्ने दृष्टिकोण पनि हुन् ।

तर केवल बजार बढाएर मात्रै पुनरुत्थान सम्भव छैन । पर्यटनको मेरुदण्ड बनेको निजी क्षेत्र—होटल, एयरलाइन्स र ट्राभल एजेन्सीहरू फेरि उठ्न जरूरी छ । त्यसैले बोर्डले निजी क्षेत्रसँग हातेमालो गर्दै संयुक्त प्रचार अभियान सुरु गरेको छ । नेपाल पर्यटन बोर्डले सेवा शुल्क घटाएर वा तालिम र गोष्ठी आयोजना गरेर होस् वा विदेशी पत्रकार र ट्राभल एजेन्टहरूलाई नेपाल घुमाएरस्पष्ट सन्देश दिँदै आएको छ,“नेपाल फेरि खुल्दैछ र पर्यटकलाई स्वागत गर्न तयार छ ।”

नेपालको पर्यटनमा विशेषगरी होटल तथा पूर्वाधारमा निजी क्षेत्रको ठूलो लगानी छ । बोर्डको स्थापनाको उद्देश्य नै सरकार र निजी क्षेत्रबीच पुलको काम गर्ने रहेको हुँदा निजी क्षेत्रलाई परेका कानुनी तथा नीतिगत झन्झट समाधान गर्न सरकारसमक्ष पहल गर्दै आएको छ । विभिन्न स्रोत बजारहरुमा गरिने प्रबद्र्धनात्मक कार्यक्रममा समेत निजी क्षेत्रको सहभागिता हुँदै आएको छ । कानुन तथा नीति निर्माणका क्रममा पनि बोर्डले सधैं निजी क्षेत्रको भावना सम्बोधन हुने गरी सरकारसँग समन्वय गर्दै आएको छ । उदाहरणका लागि निजी क्षेत्रलाई विश्वास दिलाउन र सहजीकरणका लागि पर्यटन नीति निर्माणका क्रममा प्रधानमन्त्री र निजी क्षेत्रलाई राखेर ‘पर्यटन संवाद’ गरिएको थियो ।

पुनरुत्थान केवल पैसाको कुरा होइन, आत्मबलको पनि हो । बारम्बार आएका संकटले नेपाली पर्यटनलाई हल्लाएको छ, तर कहिल्यै ढालेको छैन । “नेपालको सबैभन्दा ठूलो शक्ति भनेको धैर्यता हो ।” त्यही धैर्यताले अहिले नयाँ अध्याय लेखेको छ—पर्यटन नीति २०८२ । यो नीतिले नेपालको पर्यटनलाई फेरि परिभाषित गर्न खोजेको छ । यसको लक्ष्य छ—नेपाललाई विश्वकै सुरक्षित, आकर्षक र दिगो पर्यटन गन्तव्य बनाउने ।

नयाँ नीतिले पर्यटन उत्पादनलाई विविध बनाउन, गुणस्तरीय पूर्वाधार निर्माण गर्न र रोजगारी सिर्जना गर्न जोड दिएको छ । यसले सरकार र निजी क्षेत्रबीच साझेदारीलाई सुदृढ बनाउनेछ । वातावरणमैत्री र जलवायु–सहनशील पर्यटनलाई प्राथमिकता दिनेछ । डिजिटल प्रणालीमार्फत काम गर्न सजिलो बनाउने, अनुगमन र नियमनलाई प्रभावकारी बनाउने र संघीयदेखि स्थानीय तहसम्म समन्वय गर्ने योजना पनि नीतिमा समेटिएको छ ।

यो नीतिलाई व्यवहारमा लागू गर्ने जिम्मेवारी नेपाल पर्यटन बोर्डले लिएको छ । नेपालको भौगोलिक विविधताले पनि यस योजनालाई थप बल दिएको छ । बोर्डले तराईमा सांस्कृतिक र मनोरञ्जनात्मक पर्यटन, पहाडमा स्वास्थ्य र अध्यात्मिक पर्यटन र हिमालमा साहसिक एवं पर्वतारोहण पर्यटन विस्तार गर्दैछ । स्थानीय र प्रदेश सरकारहरूसँग मिलेर ‘बोर्डर सिटी प्रबद्र्धन’योजना अघि बढाइँदैछ । जसले सीमावर्ती सहरमा भारत र तेस्रो देशका पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ ।

यो परिवर्तन केवल भौगोलिक सीमामा सीमित छैन । सांस्कृतिक अर्थमा पनि गहिरो छ । आजको नेपालको पर्यटन केवल हिमालहरूको देश होइन, यो संस्कृतिको, अध्यात्मिकता र अनुभवको देश पनि हो । तर संकटको छायाँ अझै पूर्ण रूपमा हराएको छैन । विश्वमा राजनीतिक अस्थिरता, जलवायु परिवर्तन र आन्तरिक समस्या अझै पनि चुनौती बनेका छन् । तर नेपाली पर्यटन क्षेत्रले हरेक संकटपछि नयाँ अवसर आउँदछ भनेर सिकिसकेको छ ।
२०७२ को भूकम्पपछि विदेशी पर्यटकहरू फर्किए । महामारीपछि आन्तरिक पर्यटनले गति लियो । अहिले नयाँ पुस्ताको डिजिटल अभियानले नेपाललाई फेरि विश्वका स्क्रीनमा ल्याइरहेको छ ।

हामीले संकट देख्यौं, भय देख्यौं, तर हाम्रो, पहाडजस्तो विश्वास कहिल्यै ढलेन । अब हामीलाई थाहा छ—नेपाललाई कुनै संकटले रोक्न सक्दैन । केवल केही समय अलमलाउन खोज्छ । यो हाम्रो अनुभव र विश्वास हो ।

आज नेपाल यही आत्मविश्वासका साथ फेरि खुला छ । पर्यटकको स्वागतका लागि तयार छ । सायद, यो पटक संसार पनि तयार छ—फेरि नेपाल फर्किन, न्यानो मुस्कान महसुस गर्न ।

दीपकराज जोशी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुनुहुन्छ । यो बिचार नेपाल आर्थिक पत्रकार समाजद्वारा २९औं वार्षिकोत्सवका अवसरमा प्रकाशित ‘अर्थनीति’ सेजन स्मारिका २०८२ बाट साभार गरिएको हो ।