काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स प्लेअफमा पुग्ने चौंथो टोलि बनेको छ ।
भर्खरै सम्पन्न खेलमा जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनीले प्लेअफको टिकट काटेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।
लुम्बिनीलाई जित दिलाउन कप्तान रोहित पौडेलले ३४, डार्सी शर्टले ३०, जोनाथन स्मितले २१, निरोशन डिकवेलाले १७ तथा दिलीप नाथले अविजित १५ रनको योगदान दिए ।
बलिङतर्फ जनकपुरका सङ्गीथ कुरेले तीन तथा मयन यादवले दुई तथा सञ्जय कृष्णमुर्तीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ३२ रन बनायो । जसमा सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरे ।
बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुई–दुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक–एक विकेट लिए ।
यो नतिजासँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर प्लेअफबाट बाहिरिएका छन् । प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ ।
काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन् । कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ । मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।










