काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकाल्दा लिभरपुलले बराबरी खेलेको छ भने चेल्सीले हार ब्यहोर्यो ।
गएराति भएका खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २–० गोलले हराएको हो । घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन खेलको ११ औं मिनेटमा मिकेल मेरिनोले तथा खेल सकिनै लाग्दा इन्जुरी समयमा बुकायो साकाले गोल गरे ।
यता, लिभरपुल घरेलु मैदानमै सन्डरल्यान्डसँग १–१ को बराबरीमा रोकियो । ६७ औं मिनेटमा चेम्सडीन तल्बीले गोल गर्दै सन्डरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा सन्डरल्यान्डका नोड्री मुकीलेले आत्मघाती गोल गरेपछि लिभरपुल हारबाट जोगियो र अंक बाँड्यो ।
यस्तै, अर्को खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३–१ गोलले पराजित हुन पुग्यो । घरेलु टोलिलाई जित दिलाउन छैटौं मिनेटमा जाका ब्रिजोलले, ४३ औं मिनेटमा ओ टनाका र ७२ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गरे । यता, ५० औं मिनेटमा पेड्रो नेटोले गरेको गोल चेल्सीका लागि सान्त्वना गोल हुन पुग्यो ।










