१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा क्षति पुर्‍याउने धरौटीमा रिहा



अ+ अ-

काभ्रेपलाञ्चोक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्‍याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको अदालतको श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिनुभयो । उहाँका अनुसार बनेपास्थित इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन तथा सोही भवन बाहिर राखिएका सवारीसाधनमा क्षति गराएको, प्रहरी चौकी पनौतीको भवन, पनौतीस्थित सडकखण्डमा रहेको प्रहरी बिट, धुलिखेल नगरपालिकास्थित बसपार्कमा रहेको प्रहरी बिट, बनेपामा रहेको प्रहरी बिट तथा प्रहरीका लत्ताकपडामा आगजनी तथा तोडफोड गरी भवनभित्रका हतियार र गोली लुटपाट तथा चोरी अभियोगमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले न्यायिक मनका आधारमा धरौटीमा छाड्न आदेश दिएको हो ।

पक्राउ परेकामध्ये साकार केसीलाई रु ९० हजार, अनिश सापकोटा र रविन्द्र परियारलाई जनही रु ६० हजार, समिर तामाङ, सुबास तामाङ, सुमन केसी, ङेमा मोक्तान, रमेश तिमल्सिना, विशाल तामाङ भन्ने विशाल भ्लोन, अभि शुद्धाकार र भिम तामाङलाई जनही रु ३० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको श्रेष्तेदार कार्की बताउनुभयो । त्यस्तै अजय तामाङलाई रु २० हजार धरौटी माग गरेको जनाइएको छ । उहाँका अनुसार धरौटी बुझाएर सबै रिहा भएका छन् ।

प्रहरीले भिडियो र फोटोसहित पक्राउ परेकालाई आपराधिक उपद्रवमा मुद्दा दर्ता गरेको थियो । क्षतिग्रस्त प्रहरी कार्यालयको रु पाँच करोड ४२ लाख ७६ हजार ४६८ क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको थियो । गत कात्तिक अन्तिम साता पक्राउ परेका अन्य थप पाँचलाई भने मङ्गलबार म्याद थप गरी अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा अपराधिक घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छ वटा नीजि संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान भइरहेको बताउनुभयो । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा नीजि संरचनामा क्षति पुर्‍याइएको थियो ।