२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपालिको पलेँटीमा फत्तेमानको सम्झना गरिने



अ+ अ-

काठमाडौँ: हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमानको सम्झना गरिने भएको छ ।

संजोगले शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्ममिति पनि हो ।

पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन् ।

फत्तेमान नै किन ? भन्ने प्रश्न गर्दा पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्- ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौ । त्यसैले उहाँसँग जोडिएका धेरै सम्झनाहरू छन् । तिनलाई बेलाबखत कोट्टाइ राख्नुपर्छ; जोगाइ राख्नुपर्छ ।’ उनी अगाडि भन्छन्- ‘झन् यसपालि त उहाँको जन्म मितिकै दिन पलेँटी पर्न गयो । त्यसैले गीतहरू मार्फत नै उहाँको सम्झना गरौँ भन्ने भयो ।’

पलेँटीसँग आफ्नो संगतबारे फत्तेमानले व्यक्त गरेको अभिलेख भेटिन्छ । उनले भनेका थिए – ‘नेपालयले वीरेन्द्र अन्तर्राष्ट्रिय भवनमा मलाई पहिलोपाली स्टेजमा उतार्‍यो, त्यसबाट मलाई माया गर्ने धेरै श्रोता पाएँ मैले । … फेरि पनि मौका पाउँ, माया पाउँ । स्वास्थ्यले साथ दिउन्जेल गाउनेछु ।’

फत्तेमानको पुरानो सोही भनाइलाई उल्लेख गर्दै कार्यक्रम संयोजक आभास भन्छन्- ‘यो कार्यक्रम फत्तेमान दाइप्रतिको माया पनि हो । उहाँ भौतिक रुपमा हामी माझ नरहे पनि सृजनामार्फत जीवित हुनुहुन्छ ।’

पलेँटी आयोजना गर्दै आएको संस्था नेपालयले गायक फत्तेमानसँग सन् २००२ देखि संगत सुरु गरेको हो । सन् २००२ को अगस्ट १० तारिख नेपालयले ‘गायक फत्तेमान साँझ’को आयोजना गरेको थियो । हालको संसद भवनमा सम्पन्न भएको सो कार्यक्रम फत्तेमानको जीवनकै पहिलो एकल साँझ थियो । संगीतकार आभासले नै सो कार्यक्रमको संगीत संयोजन गरेका थिए ।

पलेँटी सन् २००५ देखि सञ्चालन हुँदै आएको लघु-साङ्गीतिक कार्यक्रम हो । पलेँटी अन्तर्गत पनि गायक फत्तेमानले फरकफरक समयमा तीनपल्टसम्म एकल गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा फत्तेमानले गाएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत हुनेछन् । जसलाई पलेँटी टिमले हप्ता दिनदेखि अभ्यास गरेर तयार पारेका छन् ।

पलेँटी कार्यक्रम यही नोभेम्बर महिनाको अन्तिम शुक्रबार; २८ तारिख र  २९ तारिख; शनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।