१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन News Polar सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन News Polar सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्‍यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar राष्ट्रिय जलवायु नीति २०८३ बहसमा, हानी–नोक्सानी अभिलेखीकरणमा जोड News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’

‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
अ अ+ अ-

चरिकोट, (दोलखा) । काँचका पर्दामा नेताहरूलाई खरो प्रश्न सोध्ने आफ्नो विद्यार्थी जगदीश खरेल मन्त्री बनेपछि उहाँलाई विद्यालय शिक्षा दिने यहाँका गुरुहरू खुसी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा गाउँमा स्वागत गर्न पाउँदा कालीनाग माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक रामबहादुर सिवाकोटीको खुसीको सीमा थिएन । सिवाकोटीले खरेललाई मन्त्री वा सञ्चारकर्मीका रूपमा भन्दा बढी आफ्नो विद्यार्थीका रुपमा सम्झनुहुन्छ ।

उत्तरी दोलखाको सिँघटीमा आयोजित हालैको एक कार्यक्रमका क्रममा सिवाकोटीले खरेललाई पढाउँदाका दिनको विगत सम्झना ताजा भएको बताउनुभयो । “खरेल विद्यार्थीकालमै भाषण कलामा तेज थिए, उनी तथ्य र तर्कसहित गज्जबको प्रस्तुति दिन्थे, विद्यालयका तत्कालीन प्रधानाध्यापक देवराज शर्माले यो भाइले बोलेरै खान्छ भन्नुहुन्थ्यो, नभन्दै त्यस्तै भयो”, उहाँले सुनाउनुभयो ।

बाल्यकालका तिनै विद्यार्थी खरेल हाल मन्त्री बन्नुभएको छ । करिब २५ वर्ष टेलिभिजनका पर्दामा तथ्यलाई अगाडि सारेर नेता तथा राज्य सञ्चालकलाई खरो प्रश्न गर्ने उहाँको शैली धेरैले मन पराए । टेलिभिजन कर्मबाट विकास र सुशासनका पक्षमा आवाज उठाएकै कारण आज खरेल मन्त्री बन्नुभएको छ ।

निर्वतमान प्रधानाध्यापक सिवाकोटी आफूले पढाएको विद्यार्थीलाई मन्त्रीका रूपमा विद्यालयमा स्वागत तथा अभिनन्दन गर्न पाउँदा एकछिन भावुक हुनुभयो । उहाँले भन्नुभयो, “हामीले पढाएको विद्यार्थी मन्त्री हुनुभयो, हाल विद्यालयमा पढिरहेका विद्यार्थी पनि भोलि यो ओहदामा पुग्छन् भन्ने मेरो विश्वास अझ बलियो भएको छ । यसका लागि विद्यार्थीले अवसर पाउनुपर्ने र शिक्षक तथा अभिभावकले अवसर दिनुपर्ने आवश्यकता छ ।”

सिवाकोटी फेरि बाल्यकालमै फर्कनुभयो । उहाँका अनुसार विद्यालयमा हुने वक्तृत्वकला, सांस्कृतिक पर्व, मेलाहरूमा खरेलको आवाज छुट्दैनथ्यो । वाककलामा मात्रै होइन, खेलकुदमा पनि उहाँ उत्तिकै अब्बल हुनुहुन्थ्यो । सहभागी भएपछि पदक नजित्ने कुनै खेल थिएनन् ।

सिवाकोटीको भनाइ सुनेपछि सञ्चारमन्त्री खरेलले आफू एउटा जिम्मेवारीका साथ सरकारमा पुगेको र इमान्दारिताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाल म जुन जिम्मेवारीमा छु, यो सम्पूर्ण उपलब्धिको श्रेय विद्यालय र गुरुवर्गलाई सुम्पन चाहन्छु ।”

खरेलले सुनखानीको कालीनाथ माध्यमिक विद्यालयमा कक्षा १ देखि प्रवेशिका (१० कक्षा) सम्मको अध्ययन गर्नुभएको थियो । सञ्चारमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला पुग्नुभएका मन्त्री खरेललाई विद्यालयले भव्य कार्यक्रमबीच अभिनन्दन गरेको थियो । उहाँलाई अभिनन्दन गरेपछि सिवाकोटीले फेरि भन्नुभयो, “एउटा गुरुको हैसियतले मैले धेरै गर्न सकिन होला, जीवनमा कति काम लाग्ने कुरा सिकाएँ त्यो भन्न सक्दिनँ, तर जे भए पनि तपाईं यहाँसम्म आफ्नो मेहनत, इमान्दारिता र लगशीलताका कारण पुग्नुभएको हो, थपबढी प्रगतिको शुभकामना दिन्छु ।”

सञ्चारमन्त्री खरेलले विद्यार्थी तथा अभिभावकले सपना बोकेर र कल्पना गरेर मात्र नहुने भन्दै जीवन सफल बनाउनका लागि ठूलो त्याग र मेहनत आवश्यक हुने धारणा राख्नुभयो । उहाँले विद्यालयमा उपस्थिति बालबालिकालाई लक्षित गर्दै भन्नुभयो, “अल्छीपन जीवनको शत्रु हो, त्यसैले जे कुरा गर्न चाहनुहुन्छ, आजैबाट सुरु गर्नुस् अनि तपाईं सफल हुनुहुन्छ । बच्चाको सफलताका लागि अभिभावकले व्यवहार, आचरण र सभ्यता सिकाउनु पर्छ ।”

अध्ययन, खेलकुद, भाषणलगायत सबैखाले प्रतियोगितामा सुनखानीका विद्यार्थी अब्बल रहेको उल्लेख गर्दै मन्त्री खरेलले विद्यालयमा राजनीति नगर्न शिक्षक र अभिभावकलाई अनुरोध गर्नुभयो ।

विद्यार्थी रोशन आचार्यले पनि मन्त्रीका रूपमा अग्रजलाई स्वागत गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “टेलिभिजनको पर्दामा देखेको व्यक्ति मन्त्री भएर विद्यालय आउँदा हामीलाई निकै खुसी लागेको छ, हामीलाई मेहनत गर्नका लागि अझ बढी हौसला मिलेको छ ।”

त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानीले सञ्चारमन्त्रीलाई आफ्नो कार्यकालमा केही उदाहरणीय र दीर्घकालीन महत्त्वका कामलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

कालिञ्चोक—७ का वडाध्यक्ष रामबहादुर पाण्डेले मन्त्री पाएकामा गौरवको अनुभूति भएको बताउँदै वडामा इन्टरनेट पूर्वाधार विकासका लागि सहजीकरणको अपेक्षा गर्नुभयो । नागरिक समाज दोलखाका अध्यक्ष दीपशङ्खर चौलागाईंले खरेललाई सञ्चारमन्त्रीका रूपमा पाउँदा दोलखावासी खुसी भएको बताउनुभयो । उहाँले परिवर्तनलाई आत्मसात् गरी नागरिक अधिकारको सुनिश्चित गर्न सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले विद्यालयको उन्नयनमा भूमिका खेलिनुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्रधानाध्यापक ऋषिराम शर्माले विद्यालयको शैक्षिक गुणस्तर बढाउन विभिन्न प्रयास भइरहेको जानकारी दिनुभयो ।

यस्तै, कालिञ्चोक गाउँपालिका–८ का अध्यक्ष सूर्यबहादुर आचार्यले जिल्लाको धार्मिक पर्यटन विकासका लागि समन्वय र सहकार्य जरूरी भएको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेल कालिनाथ माध्यमिक विद्यालय प्राङ्गणमा आउने क्रममा स्थानीयवासीले उहाँको स्वागतका लागि फूलका गुच्छा लिएर सडकका दुई किनारमा धेरै सङ्ख्यामा जम्मा भएका गाउँले लामबद्ध देखिन्थे । उहाँलाई पञ्चेबाजाको धुनले स्वागत गरिएको थियो । सडकदेखि करिब एक किलोमिटरको पैदल यात्रामा स्थानीयको भव्य स्वागत लिएर विद्यालय प्राङ्गण प्रवेश गर्दा सयौँ विद्यार्थीले हातहातमा फूल र अबिर लिएर सञ्चारमन्त्रीको स्वागत गरेका थिए ।

भ्रमणका क्रममा मन्त्री खरेलले सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रियासमेत गर्नुभएको थियो । उहाँले सुशासन प्रवर्द्धनका लागि नागरिक सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको थियो । उहाँले निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी गरेको र राजनीतिक दलहरूले पनि निर्वाचन माहोल बनाइरहेको भन्दै यसलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका खेल्न पनि आग्रह गर्नुभयो ।

चरिकोटमै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा पनि मन्त्री खरेल सहभागी हुनुभयो । जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिलगायतसँग पनि सञ्चारमन्त्रीले भेटघाट तथा अन्तरक्रिया गर्नुभयो । मन्त्री खरेलले जिल्लाका विभिन्न सरकारी कार्यालयको निरीक्षणसमेत गर्नुभएको थियो । उहाँले त्यहाँको कालिनाग मन्दिर र भीमेश्वर मन्दिरमा पूजाअर्चनासमेत गर्नुभएको थियो ।

सिबी अधिकारी/रासस