१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै…

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्त दुबईमा व्यापार गर्दै…
अ अ+ अ-

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन । बरु युएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन् । उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र रमेश उप्रेती हुन् । तीनैजनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेपछि पक्राउ परेका थिए । दुबई प्रहरीले उनीहरूलाई तारेखमा राखे पनि नेपाल फर्काउन भने मानेको छैन । उनीहरूको दुबईमा सुन पसल, रेस्टुरेन्ट तथा ट्राभल एजेन्सीमा लगानी छ ।

सुरुमा युएई प्रहरीले पक्राउ परेकाविरुद्धको सम्पूर्ण कागजपत्र पठाउन नेपाल प्रहरीलाई आग्रह गरेको थियो । सोहीअनुसार प्रहरीले उनीहरूविरुद्धका प्रमाण पठाएको थियो । तैपनि नेपाल ‘डिपोर्ट’ गर्न मानेको छैन । स्रोतका अनुसार पछिल्लो समय उनीहरूले औपचारिक माध्यमबाट आउन आग्रह गरेका छन् । औपचारिक माध्यम भनेको सुपुर्दगी सन्धि हो । तर, नेपाल र युएईबीच यस्तो सन्धि छैन । जसकारण उनीहरूलाई नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारी बताउँछन् । यद्यपि प्रहरी प्रधान कार्यालयले गृह, परराष्ट्र मन्त्रालय हुँदै युएई सरकारलाई पत्राचार भने गरेको छ ।

विगतमा दुई देशका प्रहरीबीचकै समन्वयमा कतिपय अभियुक्तलाई दुबईबाट ल्याइएको छ । सुन तस्करीमै संलग्न गुप्तलाल भुसाल, बेनु श्रेष्ठ, राजन पन्तलगायतलाई दुबईबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिवेला केही महिनापछि नै युएई प्रहरीले निष्कासन गरिदिएको थियो ।

क्यानडा र अमेरिकाले पनि बुझाएनन् अभियुक्त: दुबई मात्र होइन, अन्य देशबाट अभियुक्त ल्याउन पनि नेपाल प्रहरीलाई समस्या छ । मानव तस्करीमा इन्टरपोलले रेड नोटिस जारी गरेका सुदर्शन गौतम क्यानडामा व्यापार गरेर बसिरहेका छन् । क्यानडा प्रहरीले उनलाई फर्काउन मानेको छैन । दुई देशबीच कानुनी सहायता तथा सुपुर्दगी सन्धि नभएकाले नै पठाउन नमानेको प्रहरी अधिकारीहरू बताउँछन् । अमेरिका पठाउने भन्दै उनले नेपाली युवायुवतीको तस्करी गरेका थिए । गौतमले पठाएकी एक युवतीको समुद्रमै मृत्यु भएको थियो ।

अलपत्र परेकाहरू स्वदेश फर्किएपछि उजुरी गरेका थिए । फिल्मसमेत बनाएका गौतमसँग क्यानेडियन पासपोर्ट भएकाले नेपाल फर्काउन क्यानडा सरकारले नमानेको हो । त्यस्तै, बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भएका पवनजंग कार्की अमेरिकामा डिपार्टमेन्ट स्टोर चलाएर बसेका छन् । उनलाई नेपाल ल्याउने वर्षौँको प्रयास सफल हुन सकेको छैन । क्यापिटल मर्चेन्ट फाइनान्समा करोडौँ अनियमितता गरी उनी अमेरिका भागेका थिए । सो अनियमिततामा नक्कली ऋणीहरू जेलमा छन्, तर कार्कीलाई कानुनी दायरामा ल्याउनै सकिएको छैन ।

पाँच महिनाअघि बलात्कार र हत्या मुद्दामा फरार लीलाराज गौतमलाई भने अमेरिकाको एफबिआईको सहयोगमा नेपाल ल्याइएको थियो । त्यसरी अमेरिकाबाट अभियुक्त ल्याइएको पहिलोपटक हो । गौतमको हकमा एफबिआईले सहयोग गरे पनि कार्कीको हकमा भने सहयोग गरेको छैन । त्यस्तै, वैदेशिक रोजगार ठगीमा फरार गोविन्द तिवारीलाई पनि एक वर्षसम्म नेपाल ल्याउन सकिएको छैन । इन्टरपोलले रेड नोटिस जारी गर्दा उनी जापानमा थिए । लगत्तै उनी त्यहाँबाट भागेको सूचना प्रहरीले पाएको छ ।

कतिपय देशबाट व्यक्तिगत पहलमा समेत पक्राउ गरेर ल्याइएको, तर केही व्यक्तिलाई ल्याउन समस्या भइरहेको प्रहरी सहप्रवक्तासमेत रहेका इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । ‘पछिल्ला वर्ष हामीले विभिन्न देशबाट अभियुक्तहरूलाई ल्याएका छौँ,’ जोशीले भने, ‘केही व्यक्तिलाई ल्याउन ढिला भइरहेको छ, सुपुर्दगी सन्धि नहुनु यसको प्रमुख कारण हो ।’ विदेशबाट सहज तरिकाले अभियुक्त ल्याउन कतिपय अवस्थामा प्रहरीको पहलले मात्र नपुग्ने भएकाले सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

अपराध गरेर नेपालमा लुक्न आएका चिनियाँ तथा अमेरिकी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेर केही दिनभित्रै सम्बन्धित देशमा फर्काएर सहयोग गर्दै आएको छ । सुपुर्दगी सन्धि नभएपछि इन्टरपोलले नोटिस जारी गरेका व्यक्तिको हकमा निष्कासनको प्रक्रियामार्फत यसरी अपराधी हस्तान्तरण हुने गरेको छ । तर, नेपालले भने आफ्नो देशमा ल्याउन समस्या झेल्दै आएको छ । नयाँ पत्रिका दैनिक