काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बोलाइएको हो ।
असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित गर्दै सहमति खोज्ने प्रयास भइरहेको छ ।
चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद हुँदा केन्द्रीय समितिले अहिलेसम्म निर्णय लिन सकेको छैन ।
सभापति शेरबहादुर देउवा उपचार गरी सिंगापुरबाट फर्किएपछि पार्टीभित्र देखिएको मतभेद समाधान गर्न सक्रियता देखाएका छन् ।
सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि अनौपचारिक रूपमा गत शनिबार र आइतबार नेताहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि सोमबारको केन्द्रीय समिति बैठक नै सारिएको थियो ।
सभापति शेरबहादुर देउवानिकट केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नु उपयुक्त हुनेमा छन् ।
तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन हुन नसके चुनावअघि विशेष महाधिवेशन गरेर जानुपर्ने अडान राखेका छन् ।










