४ भाद्र २०८३, बिहीबार
,
Latest
संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन राप्रपाले गर्‍यो बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्काशन हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने नेप्से परिसूचक सात अङ्कले बढ्यो महाधिवेशन रोक्न अदालत जाने कांग्रेस संस्थापन इतर समूहको निर्णय पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन नेपाल–साउदी सम्बन्ध र श्रम सहकार्यबारे परराष्ट्रमन्त्री खनाल र राजदूतबीच छलफल पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित ‘नेपाल हरित रोजगारी मिसन’…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका पूर्व मन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ



अ+ अ-

कोलम्बो। श्रीलङ्काका पूर्व पर्यटन मन्त्री प्रसन्न रणतुङ्गालाई आर्थिक सङ्कट सुरु भएको समयमा भएको बीमा हिनामिनासम्बन्धी आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

रणतुङ्गा तत्कालीन राष्ट्रपति गोठाबाया राजपक्षे नेतृत्वको सरकारले सन् २०२२ मा भ्रष्टाचारविरुद्धका जनआन्दोलनका कारण पतन हुनुअघि मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

रिपोर्टहरू अनुसार उहाँमाथि सन् २०२१ मा राज्य स्वामित्वको बीमा कम्पनीलाई ठगी गरेको आरोप छ । यसअघि पनि उहाँ जबर्जस्ती असुली (अघोषित रकम असुल्ने) मुद्दामा दोषी ठहर भई सजाय भोगिसकेका छन् ।

बुधबार उहाँलाई केही समय हिरासतमा राखिएपछि एक लाख श्रीलङ्काली रुपियाँ (झन्डै ३३३ अमेरिकी डलर) धरौटीमा रिहा गरिएको छ । कोलम्बोका प्रमुख न्यायाधीश असङ्ग बोडारागामाले उहाँलाई विदेश यात्रा गर्न प्रतिबन्ध लगाएका छन् ।

५८ वर्षका रणतुङ्गालाई यसअघि नै दुई वर्षको निलम्बित जेल सजाय सुनाइएको थियो र २५ लाख रुपियाँ जरिवाना गरिएको थियो । साथै, उहाँलाई एक स्थानीय व्यवसायीलाई १० लाख रुपियाँ क्षतिपूर्ति तिर्न आदेश दिइएको छ । सो आदेश पालना नगरे थप १२ वर्षको जेल सजाय हुने चेतावनी दिइएको छ ।

श्रीलङ्काले सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरको बाह्य ऋण तिर्न नसकी आर्थिक पतनको सामना गरेको थियो ।

देशमा सरकारी भ्रष्टाचारका कारण कति आर्थिक क्षति भएको भन्ने आधिकारिक तथ्याङ्क उपलब्ध छैन, तर सिविल समाजका कार्यकर्ताहरूका अनुसार विगत केही दशकमा यो क्षति अर्बौँ डलर पुगेको अनुमान गरिएको छ ।

नयाँ सरकारले हालसालै पारित गरेको कानुन अनुसार, घूस र भ्रष्टाचार अनुसन्धान आयोगलाई अपराध प्रमाणित नभए पनि अवैध रूपमा आर्जित सम्पत्ति फिर्ता गर्न सक्ने अधिकार प्रदान गरिएको छ ।  (रासस/एएफपी)