४ भाद्र २०८३, बिहीबार
,
Latest
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम



अ+ अ-

 

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासका कारण कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ (निर्णय पक्षाघात) को समस्या देखिएको बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गौतमले अख्तियारको डरका कारण इमानदार कर्मचारीसमेत निर्णय लिन हिच्किचाउने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले भ्रष्टाचार गर्नेहरू अख्तियारसँग डराउनुपर्ने भए पनि इमानदार कर्मचारीले समेत निर्णय गर्न डराउने अवस्था आउनु उचित नभएको उल्लेख गर्नुभयो । कर्मचारीतन्त्रले निर्णय नगर्दा सरकार कतिपय अवस्थामा ‘अनिर्णयको बन्दी’ बन्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो ।

मन्त्री गौतमले आफ्नो मन्त्रालयको अनुभव सुनाउँदै कानूनमा स्पष्ट व्यवस्था भएका विषयमा समेत कर्मचारीहरूले अख्तियारको त्रासका कारण राय दिन अप्ठ्यारो मान्ने गरेको बताउनुभयो । अख्तियारले कुनै मन्त्रालयलाई पठाएको सुझाव वा पत्राचारको प्रतिलिपिलाई आधार बनाएर कर्मचारीहरू प्रचलित कानूनको व्याख्या गर्नसमेत डराउने गरेको उहाँले उल्लेख गर्नुभयो ।

“भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग विश्वसनीय र व्यावसायिक संस्था हुनुपर्छ । भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, तर इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनु हुँदैन,” मन्त्री गौतमले भन्नुभयो ।

उहाँले अख्तियारले अनुसन्धान तथा अभियोजन गर्दा तथ्य, प्रमाण र कानूनी आधारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । अख्तियारको अधिकारलाई कुनै सरकार वा व्यक्तिविरुद्ध दुरुपयोग गर्ने अवस्था आउन नहुने भन्दै उहाँले आयोगको व्यावसायिकता र प्रमाणमा आधारित कार्यसम्पादनले मात्र संस्थाप्रतिको जनविश्वास बढाउने बताउनुभयो ।

मन्त्री गौतमले कर्मचारीले ‘मैले निर्णय गरेँ भने अख्तियारले समात्छ कि’ भन्ने डरका कारण फाइल अगाडि नबढाउने अवस्था आएमा त्यसको प्रत्यक्ष असर सरकारी काममा पर्ने बताउनुभयो ।

निर्णय प्रक्रियामा हुने ढिलाइका कारण आयोजना तथा विकास निर्माणका काम प्रभावित हुने, लागत बढ्ने र त्यसको अतिरिक्त भार अन्ततः जनताले व्यहोर्नुपर्ने उहाँको तर्क थियो ।

उहाँले भ्रष्टाचार नियन्त्रणसँगै इमानदार कर्मचारीलाई कानूनसम्मत निर्णय गर्न सक्ने निर्भीक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कर्मचारीतन्त्रमा देखिएको डरको वातावरण अन्त्य गरी प्रशासनिक संयन्त्रलाई गतिशील बनाउन आवश्यक रहेको मन्त्री गौतमको भनाइ थियो ।