१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन: सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरुले जोड दिएका छन् । 

पुष ११ गतेदेखि जारी माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र जारी छ । शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेपनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतीमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडी बढाइएको छ । चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको भएपनि बढीभन्दा बढी प्रतिनिधिहरुले भने पार्टीलाई सुदृढ र एकतावद्ध बनाउनका लागि सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । महाधिवेशनका प्रतिनिधि चक्रपाणि शर्मा सर्वसम्मतीमा नेतृत्व चयन गर्ने पार्टीले निर्णय गरेमा स्वीकार गर्नुपर्ने बताउनुहुन्छ । पार्टीभन्दा बाहिर गएर नहुने भन्दै पार्टीले छलफल गरेरै टुंग्याउने उहाँले बताउनुभयो ।

प्रतिनिधि डा. कृष्णप्रसाद खनाल माओवादी पार्टी भित्र चुनावको संस्कार विकसित नभएको अवस्थामा सर्वसम्मत रुपले कमिटी निर्माण गर्नुपर्ने बताउनुहुन्छ । पार्टीले संगठित रुपमा आकार नलिइरहेको अवस्थामा चुनाव गर्नु नहुने पक्षमा उहाँको मत छ । चुनाव गराउनु भनेको गुटबन्दीको सिर्जना गर्नु हुने उहाँको तर्क छ ।

प्रतिनिधि लिलाधर खनाल भने प्रतिस्पर्धा भएमा पार्टी स्वच्छ र मजबुद बन्ने बताउनुहुन्छ । प्रतिस्पर्धाबाट आएमा नेताहरुले आफ्नो क्षमता देखाएर अगाडी बढ्न सक्ने उहाँले बताउनुभयो ।
त्यसैगरी, प्रतिनिधि परशुराम रिमालले पार्टीले चुनाव नै गरेपनि विद्यमान प्रणालीभन्दा फरक प्रकारको जनवादी चुनावको अभ्यास गर्नुपर्ने बताउनुभयो । हाल माओवादी केन्द्रको कार्यकर्तामा चुनावमा जाने खालको चेतना नभएको भन्दै उहाँले चुनाव गरे पार्टी नबन्ने उहाँले बताउनुभयो । सहमती, सहकार्यबाट मात्रै पार्टी गतिलो बन्ने उहाँले बताउनुभयो ।

प्रतिनिधि विरबहादुर रायमाझी पार्टीमा सक्रिय र इमान्दार कार्यकर्ताले ठाउँ पाउनुपर्ने बताउनुहुन्छ । चुनाव भएमा पैसावाल मान्छेहरुको हालिमुहाली हुने भएकाले चुनाव गर्नु नहुने उहाँको भनाई छ । चुनावी प्रणालीलाई नमान्ने उहाँको भनाई छ ।

प्रतिनिधि टेकनाथ न्यौपाने पनि चुनावको लडाइँ भन्दा पार्टीलाई सर्वसम्मत् रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुहुन्छ । उहाँले चुनावलाई केवल जित र हारको संज्ञा दिदैँ सर्वसम्मतीमा कसैले जित्ने हार्ने नहुने टिप्पणी गर्नुभयो । पार्टीलाई बलियो बनाउन चुनावको विकल्प खोज्नुपर्ने उहाँले बताउनुभयो ।