२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’



अ+ अ-

जनकपुरधाम। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखलाई शपथ ग्रहणका लागि दबाब दिएको खुलासा गरेका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नियुक्ति संविधानअनुसार भएको दाबी गर्दै शपथ गराउन दबाब दिएको कुरा स्वीकार गरे।

‘अन्य दलले तपाईंलाई घेर्छ भने हामी पनि घेर्छौं,’ यादवले भने, ‘तपाईंले नियुक्ति गरेर अन्योल सिर्जना गरेर जान पाउनुहुन्न। जहाँ हुनुहुन्छ, मलाई त्यहीँ शपथ ग्रहण गराइदिनु भनेको हुँ।’

उनका अनुसार तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका थिए। त्यसपछि आफू वैधानिक रूपमा नियुक्त भएको यादवको दाबी छ। ‘त्यही प्रदेश प्रमुखले सोनललाई नियुक्त गर्दा सही मानिएको भए, मेरो नियुक्ति पनि वैधानिक हो,’ उनले भने।

अर्को प्रसंगमा यादवले कसैले प्रदेशसभा विघटनको सल्लाह नदिएको बताएका छन्। ‘यदि कसैले दिएको भए पनि अस्वीकार गर्ने थिएँ,’ उनले स्पष्ट पारे। यादवका अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गर्नु सरकारको नियतले प्रेरित कदम हो, जसले संघीयतामाथि थप संशय उत्पन्न गर्न सक्छ।

यादवले पहिलो पटक नै विश्वासको मत असफल भएपछि १६८ धारा (३) अनुसार आफू नियुक्त भएको तर्क दोहोर्‍याए। जेन–जी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयमा आगजनी भएकाले पदभार ग्रहण प्रक्रिया सम्पन्न हुन नसकेको उनको भनाइ छ।

यस्तै, उनले सर्वोच्च अदालतले जे निर्णय गर्छ, आफू त्यसलाई स्वीकार गर्ने पनि बताए।