एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अस्पतालमा भर्ना भएका छन्, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।
धेरैजसो भारतीय तथा नेपालका सञ्चारमाध्यमहरूले उनको निधनको समाचार प्रसारण गरे । तर, त्यसबारे आपत्ति जनाउँदै उनकी छोरी इशा देओलले सामाजिक सञ्जालमार्फत जानकारी दिइन् कि धर्मेन्द्रको स्वास्थ्य अहिले स्थिर छ, भने पत्नी हेमा मालिनीले झूटा समाचार फैलाउनेहरूमाथि आक्रोश व्यक्त गरेकी छन् ।
इशा देओल र हेमा मालिनी पुगे अस्पताल
धर्मेन्द्रलाई भेट्न मंगलबार बिहान हेमा मालिनी र इशा देओल अस्पताल पुगेका छन् । यो समयमा इशाको अनुहारमा उदासीसँगै केही रिसको झल्को पनि देखिन्थ्यो ।
हेमा मालिनीले निधनको झूटा समाचारप्रति आक्रोश व्यक्त
हेमा मालिनीले गलत खबर फैलाउने सञ्चार माध्यममाथि आक्रोश व्यक्त गर्दै एक्समा लेखेकी छन् —
‘जे भइरहेको छ, त्यो माफ गर्न योग्य छैन । जिम्मेवार मिडिया च्यानलहरूले कसरी त्यस्तो व्यक्तिको बारेमा झूटा समाचार फैलाउन सक्छन्, जो उपचारको प्रतिक्रिया दिइरहेका छन् र निको हुँदैछन् । यो अत्यन्तै अपमानजनक र गैरजिम्मेवार व्यवहार हो । कृपया परिवारको गोपनीयताको सम्मान गर्नुहोस् ।’
फ्यानहरूलाई प्रार्थना गर्न आग्रह
सोमबार हेमा मालिनीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत धर्मेन्द्रको मुस्कुराउँदो तस्वीर साझा गरेकी थिइन् । त्यससँगै उनले लेखेकी छन् —
‘म धरमजीको स्वास्थ्यप्रति चिन्ता देखाउने सबैप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु । उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ र निरन्तर हेरचाह भइरहेको छ । हामी सबै उहाँसँगै छौं । म सबैलाई उहाँको स्वास्थ्य सुधार र चाँडै निको होस् भनेर प्रार्थना गर्न अनुरोध गर्छु ।’
चिकित्सकहरूको निगरानीमा छन् धर्मेन्द्र
जानकारीअनुसार, गएराति सनी देओलको टिमले विज्ञप्ति जारी गर्दै भनेका छन् —
‘धर्मेन्द्रजीको स्वास्थ्य अवस्था स्थिर छ । उनी चिकित्सकहरूको निगरानीमा छन् । आगामी अपडेट उपलब्ध हुँदा जानकारी दिइनेछ । कृपया, उनको स्वास्थ्यबारे झूटा अफवाह नफैलाउनुहोस् । सबैलाई उनको चाँडै स्वास्थ्य लाभको प्रार्थना गर्न अनुरोध गरिन्छ । परिवारको गोपनीयताको सम्मान गर्नुहोस् ।’
इशाले आफ्नो पिताको स्वास्थ्यबारे जानकारी दिँदै लेखेकी छन् कि धर्मेन्द्रको अवस्था अहिले स्थिर छ र उनी विस्तारै निको हुँदैछन् । उनले झूटा समाचार फैलाउने मिडिया च्यानलहरूलाई पनि चेतावनी दिँदै लेखेकी छन् —
‘देखिन्छ, मिडियालाई झूटा समाचार फैलाउन धेरै हतारो छ । म हाम्रो परिवारको गोपनीयता कायम राख्न सबैलाई अनुरोध गर्छु ।’










