त्रिवेणी । कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लागेको बताउनुभयो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उहाँ जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो ।
केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डको यात्रा सकसपूर्ण हुन थालेको लामो समय भइसक्यो ।
नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु भएदेखि दाउन्नेबाहेकको अन्य क्षेत्रमा धेरै जसो काम सकिए पनि दाउन्ने खण्ड नसकिँदा यात्रा कष्टकर भएको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट पश्चिम) दुई जिल्लाको सीमामा पर्ने दाउन्नेमा करिब १४ किलोमिटर खण्डमा यो समस्या छ । जसमध्ये पश्चिम खण्डमा ठूलो समस्या नभएपनि पूर्वी खण्डमा भने जीर्ण सडकका कारण यात्रा कष्टकर हुने गरेको यात्रु काफ्लेले सुनाउनुभयो ।
पानी परेको समयमा मात्रै नभइ अन्य समयमा समेत दाउन्ने खण्डमा कल्भर्ट निर्माण, ढलानलगायतका काम गर्दा बाटो एकतर्फी सञ्चालन गर्ने गरिएकाले दाउन्ने वारपार गर्न घण्टौँ लाग्ने गरेको छ ।
सडक विस्तार दाउन्ने खण्डमा सुस्ता हुँदा समेत यो खण्डमा यात्रा गर्न समस्या हुँदै आएको यात्रुहरुको भनाइ छ । सडक निर्माणका क्रममा कतिपय ठाउँमा एकतर्फी रूपमा सडक सञ्चालनमा छ ।
मुख्यगरी विश्वकर्मा मन्दिर, घ्यूखोला, त्रिसठ्ठी मोडमा समस्या हुँदै आएको छ । एकतर्फ जीर्ण सडक अर्कोतर्फ उक्त खण्डमा बेलाबेलामा सवारी बिग्रिँदा सडक पूर्ण अवरोधजस्तै हुने गरेको यात्रुको गुनासो रहेको छ ।
पानी पर्दा सधैँजसो दाउन्नेको सडक चिप्लो भएर यातायात सञ्चालनमा समस्या हुने गरेको छ । अन्य समयमा समेत यात्रा उस्तै कष्टकर हुने गरेको छ । केही दिनअघि परेको झरीले सहज रूपमा यातायात सञ्चालन नहुँदा अहिले दाउन्ने क्षेत्रमा सवारीको ठूलो जाम लागेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व, नवलपुरले सोमबार एक सूचना जारी गरी वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार दाउन्नेमा अहिले पनि बाटो चिप्लो हुँदा सवारी सहज रूपमा वारपार हुन नसकेको बताउनुभयो । कतिपय स्थानमा सवारी बिग्रिएकाले समेत सडक एकतर्फी रूपमा सञ्चालन भएपनि अवस्था सहज नभएको उहाँले बताउनुभयो ।
“केही दिनदेखिको सवारीको चाप छ, बाटो चिप्लो हुँदा उकालोमा सवारी उक्लिन सकिरहेका छैनन्, ठाउँठाउँमा बिग्रिएका सवारीले समेत बाटो छेके










