१३ असार २०८३, शनिबार
,
Latest
सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जो डाक्टर नभए पनि बिरामी निको पार्छन्…



अ+ अ-

घोडाघोडी, (कैलाली) । यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर” भनेर सम्बोधन गर्छन् । तर उहाँ न त डाक्टर न वैद्य नै हुनुहुन्छ । जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिनुभएका उहाँको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आउनुभएको छ ।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उहाँकहाँ आउँछन् । उहाँले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउनुहुन्छ । छामेरै भन्नुहुन्छ, “यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ ।” त्यसपछि उपचार गर्नुहुन्छ । आजसम्म कति बिरामी निको पार्नुभयो भन्ने यकिन तथ्याङ्क छैन ।

त्यसो त उहाँले यो सीप संयोगले प्राप्त गर्नुभएको होइन । उहाँका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य हुनुहुन्थ्यो । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उहाँमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो । हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गनुहुन्थ्यो । त्यही क्रममा हातमा सीप बस्दै गयो । हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उहाँले निरन्तर अभ्यास गर्नुभयो । अहिले त्यही सीप उहाँको परिचय बनेको हो ।

४० वर्ष भन्दा बढी भयो उहाँले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहनुभएको । उहाँको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन् । कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन् ।

कठरियाको उपचार शैली पनि सरल छ । उहाँसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण । उहाँको हात, सीप र अनुभव नै औजार हो । बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउनु हुन्छ । उहाँको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन् । उहाँका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो । त्यसैले उहाँले उपचारको शुल्क निर्धारण गर्नुहुन्न । बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन् । उहाँले धन्यवादसहित ग्रहण गर्नुहुन्छ ।

भजनीका भागिलाल चौधरी आफ्नो अनुभव सुनाउँदै भन्नुहुन्छ, “मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन् । अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन् ।” हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन् । उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन् ।

उपचारमा उहाँ प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्नुहुन्छ । कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउनुहुन्छ । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उहाँ बताउनुहुन्छ । उहाँका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो । “मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,” उहाँ भन्नुहुन्छ, “उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो ।”

उहाँ आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहानुहुन्छ । उहाँले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन् । उहाँ भन्नुहुन्छ “अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस् ।” रासस