काठमाडौँ । अग्रज नेता मोहनविक्रम सिंहले जेन जीको कुनै एजेण्डा नै नरहेको बताउनुभएको छ ।
रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनका क्रममा शुक्रवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जीका नाममा अहिले धेरै मागहरु आइरहेको भएपनि कसैले प्रत्यक्ष कार्यकारी भन्ने गरेको र कसैले त्यसको विरोध गरिरहेको बताउनु भयो । उहाँले कसैले पूर्ण समानुपातिक भन्ने गरेपनि केहीले त्यसको विरोध गरेको बताउनु भयो । जेन जीको एउटै समूह नभएको र मन्त्री, प्रधानमन्त्री बनाउँदा समेत विरोध भएको बताउनु भयो । जेन जी कुनै संगठित समूह नभइ भीड मात्रै भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जेन जीका नाममा कयौँ मागहरु आइरहेका छन् । कसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ भनेका छन् । कसैले यसमा विरोध गरेका छन् । कसैले पूर्ण समानुपातिक भनेका छन् । जेन जीको एउटै समूह छैन । जेन जीको कुनै नीति छैन । २५ वटा समूह छन् । उनीहरुबीच नै एकता छैन । सुशीला कार्कीलाई प्रधानमन्त्री बनाए, नाराबाजी भयो । मन्त्री बनाउँदा विरोध हुन्छ । जेन जी भनेको कुनै संगठित समूह होइन, यो भीड हो । कुनै नारा छैन । जेन जीको कुनै नारा नै छैन ।’
उहाँले तत्काल वाम एकताको अवस्था नरहेको जिकिर गर्नुभयो । संसदलाई अवैधानिक रुपमा विघटन गरिएको बताउनु भयो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास रहेको बताउनु भयो ।









