१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा उपसभापतिमा सोविता विजयी मुख्यमन्त्रीलाई हात्तीबाट पीडितले बुझाए ज्ञापन पत्र कार्यसम्पादन मूल्याङ्कनमा मनाङ पहिलो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन रास्वपा पदाधिकारी निर्वाचनमा कम मत, १ हजार २८९ प्रतिनिधिले मात्रै गरे मतदान शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना विरुद्ध लड्न यस्ता छन् सरकारका ४ रणनीति



अ+ अ-

काठमाडौं : कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा फैलन नदिने सरकारले चारवटा रणनीति अपनाएको छ । कोरोना भाइरसको रोकथाम, जनचेतना, होम क्वारेन्टाइनमा निगरानी र उपचार व्यवस्थापन गरी चार रणनीति अघि सारेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार एकजना नेपाली युवतीमा संक्रमण भेटिएकोले अन्यको अवस्था पत्ता लगाउन एक्टिभ सर्भिलेन्स (सक्रिय निगरानी) बढाइएको छ । संक्रमण भेटिएको खण्डमा उपचार व्यवस्थापन गर्नका लागि तदारुकताका साथ लागिने भएको छ ।

रणनीति नं १

चारवटा रणनीतिमध्ये पहिलो कार्यान्वयनमा ल्याइसकिएको छ । डा. देवकोटाका अनुसार, सीमा नाका र विमानस्थलमा प्रतिबन्ध लगाइएको छ । ‘प्रवेशमा रोकको नीति कार्यान्वयन भइसकेको छ । लामो दूरीका सवारी साधन चल्न निषेध तथा नाकामा यात्रुको आवागमन निषेध गरिएको छ, डा. देवकोटाले भने । आगामी चैत २१ गतेसम्मका लागि मुलुकभित्र लामो दूरीको सवारी साधन चल्नमा रोक लगाइएको छ ।

त्यस्तै जमघटलाई पनि निषेध गरिएको छ । संक्रमण नफैलायोस् भन्ने उद्देश्यले जमघटमा निषेध गरिएको हो । उनले भने, ‘अबको संक्रमणको फैलावटको दर हेर्दा हामी हरेक व्यक्ति संक्रमित हुन सक्छौं । हामी बाहेक अरु व्यक्ति पनि संक्रमित हुन सक्छन् । एक आपसबाट संक्रमणबाट जोगिन अलि बढी जिम्मेवार बन्न जरुरी छ । हाम्रो सावधानीले समाज र परिवारका सदस्यलाई संक्रमण हुनबाट जोगाउँछ’, उनले भने ।

कोरोना संक्रमणको अवस्थाबारे अब पत्रकार सम्मेलन नगरिने भएको छ । ‘अबदेखि जमघट कम गर्नेतर्फ कदम चाल्ने छौं । सरकारी मिडिया, फेसबुक लाइभ वा प्रेस विज्ञप्तिमार्फत सूचना प्रवाह गर्ने छौं’, डा. देवकोटाले भने ।अस्पताल आउने बिरामीका लागि पनि कडाइ गरिएको छ ।

डा.देवकोटाका अनुसार, पछि गर्न सकिने केसका लागि आज नआइदिनुहोस् भन्न खोजेको हो । अन्य रोगको बिरामीलाई कोरोना भाइरस संक्रमण हुने बढी जोखिम हुन्छ ।

पेइंग क्लिनिक स्थगन गर्ने, एक दुई साता फलोअपमा नबोलाउने, नियमित जाँच र पछि गर्दा हुने शल्यक्रिया .स्थगित गर्ने निर्णय भएको छ ।

हरेक ५० शैया भन्दा ठूला अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याउनु पर्ने भएको छ । बहिरंग विभाग (ओपीडी) मा जाँदा अन्य व्यक्तिलाई पनि सार्ने खतरा हुने भएकाले छुट्टै हेर्ने बनाइएको हो ।

रणनीति नं २

जनचेतनासम्बन्धी यो रणनीतिमा भ्रमपूर्ण सूचना प्रवाह फैलाउनेलाई कारवाही गर्ने र तथ्यपूर्ण सूचनाका लागि एकद्धार प्रणालीबाट प्रवाह गर्नेस्वास्थ्य मन्त्रालयको तयारी छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका अनुसार संक्रमण भएकी नेपाली विद्यार्थीको जानकारी पनि पे्रस वक्तव्य मार्फत दिने की वा एउटा मिडियाबाट लाइभ गर्ने भन्ने छलफल गरिएको थियो । ‘यो पटकलाई सबै सञ्चारकर्मीको बीचबाट गरौं भन्ने भयो । अब अर्कै खालको व्यवस्थापन गरौं भन्ने छ’, मन्त्री ढकालले भने ।

रणनीति नं ३

यो रणनीतिमा विदेशबाट आएका संभावित संक्रमणको लक्षण भएका यात्रुलाई होम क्वारेन्टाइन राखेर निगरानी गरिने भएको छ । पछिल्लो समय सर्भिलेन्सको दायरालाई बढाइएको छ । विदेशबाट फर्किएका व्यक्तिलाई आइसोलेसनमा राखि नमुना परीक्षणको व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित लक्षण देखिएको अवस्थामा नमुना परीक्षण गर्ने कार्यलाई फराकिलो बनाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘अबदेखि ६० वर्षभन्दा माथिका व्यक्ति, स्वासप्रश्वासको गम्भीर खालको समस्या भएका व्यक्ति र दीर्घरोगीलाई यस खालका लक्षण देखिए नमुना परीक्षण गर्ने दायरा बढाएका छौं ।’

रणनीति नं ४

यो रणनीतिमा बिरामीको उपचार व्यवस्थापन छ । यसका लागि काठमाडौं उपत्यकामा एक हजार शैयासम्मको आइसोलेसन शैया वृद्धि गर्ने रहेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

मुलुक भरका अस्पतालमा सघन उपचार कक्ष (आइसीयु)का लागि २ सय ३५ शैया आइसीयु शैया थप गर्ने कार्य भइसकेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा थप १० शैयाको लागि निर्माण कार्य सुरु भइसकेको छ । त्यस्तै संक्रमितको उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पीपीई) खरिदका लागि टेन्डर प्रक्रिया खुला गरिसकिएको छ । ‘जति सामान पाइन्छ, त्यसलाई ल्याएर कार्यान्वयन गर्ने छौं, डा. देवकोटाले भने । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।