काठमाडौं: सरकारले आजका लागि आह्वान गरेको सरकार, दलहरु र जेन जी बीचको वार्ताप्रति असन्तुष्टि जनाउँदै एक समूहले वार्ता बहिस्कार गरेको छ ।
जेन जेड २.० का प्रवक्ता अविन मेयाङ्ग्बोले सरकारले आफ्ना निकटलाई मात्र बोलाएर निर्वाचनका विषयमा सीमित संवाद गरिरहेको अवस्थाको बिरोध गरिएको बताएका छन् ।
उनले यस्तो एकपक्षीय वार्तालाई बहिष्कार गर्ने निर्णय गरेको र “राष्ट्रिय एकता” सम्बन्धी ब्यानर र प्ले कार्डहरू सहित प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शनको तयारी गरिएको बताए ।
यस्तो वार्ता प्रत्यक्ष रूपमा हुनुपर्छ भन्ने हाम्रो मुख्य माग हो, उनले भनेका छन् । ३.४५ बजे सबै जना बालुवाटारमा भेला हुनलाई हार्दिक अनुरोध गर्दछौं, उनले भनेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा आज हुने त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेन जी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने भएको छ ।
यो पनि पढ्नुहोस् – त्रिपक्षीय छलफलमा दलबाट १६ र जेनजीबाट १४ प्रतिनिधि सहभागी हुने
प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४:०० बजे हुने छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी एवं दोस्रो तहका नेताहरू सहभागी हुँदैछन् ।
जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने जनाइएको छ ।
आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको समग्र वातावरण निर्माण, राजनीतिक समझदारी जुटाउनेलगायतका विषय छलफलको कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।









