२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज चैतेदशैँ : देशभर लकडाउनका कारण खल्लो



अ+ अ-


काठमाडौँ । आज चैत्र शुक्ल अष्टमी । नेपालीहरुले चैते दशैँका रुपमा देशव्यापी रुपमा दोस्रो दशैँका रुपमा मनाउने गरेका छन् । चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा पर्ने चार नवरात्रमध्ये आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ।तर यता चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ।


तर यस वर्षको नेपालीहरुको चैतेदशैँ भने खल्लो हुन पुगेको छ । कोरोना भाइरसको संकटका कारण देशव्यापी रुपमा लकडाउनको घोषणा गरिएको छ । यस समयमा नागरिक आफ्नो घर बाहिर पनि निस्किन पाएका छैनन् । नवदुर्गा र देवीका शक्तिपीठहरुमा पनि पाठपूजा गरिऐको छैन । देशमा लकडाउन गरिएको आज नवौँ दिन हो । अरु थप सात दिन सम्मका लागि यस्तो नीति लिइएको छ । यसैले यसवर्षको चैते दशैँ खल्लो हुन पुगेको छ ।