२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर नियुक्ती कहिले ?



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर रिक्त भएको आज दुई साता भएको छ । बैंक ऐन, २०५८ मा नयाँ गभर्नरको छनौट बहालरतको म्यादसकिनु एक महिना अगावै गर्न सकिने व्यवस्था छ । तरपनि सरकारले त्यसबमोजिम नियुक्तीको पहल गरेको समेत देखिएन । अर्थमन्त्रीले दोस्रो पटक पदभार ग्रहण गरेको अवसरमा चैत पाँच गतेभित्रै नयाँ गभर्नरको नियुक्ती भइसक्ने बताएका थिए । त्यो पनि कार्यान्वयन भएन । यसबीचमा कोरोना संक्रमण रोक्न सरकारले नौ दिन अघिदेखि मुलुक लकडाउन गरेको छ । अत्यावश्यक बाहेक राज्यको सबै संयन्त्र ठप्प छ । तर, फुर्सदमा हात बाँधेर बस्ने र आपत्मा हतारिने प्रवृत्तिलाई पच्छाउँदै पछिल्लो मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्तीको प्रक्रियालाई अघि बढाएको छ ।

अर्थमन्त्रीको संयोजकत्वमा पूर्व गभर्नर विजयनाथ भट्टराई र पूर्व सचिव कृष्णहरी बाँस्कोटा रहेको गभर्नर सिफारिश समितिले तीनजनाको नाम छनौट गर्नेछ । लकडाउनका कारण उक्त समितिको बैठक तत्काल बस्ने सम्भावना देखिँदैन । समितिका सदस्यलाई सरकारले आजसम्म औपचारिक पत्र समेत दिन सकेको छैन । अर्कोतर्फ, लकडाउनको अवधि २५ चैतभन्दा पछाडिसम्म पनि धकेलिने सम्भावना छ । त्यस्तो अवस्थामा समितिको गठन नै बैशाखको पहिलो साताभन्दा अगाडि हुने छाँटकाँट देखिँदैन । बैशाख १४ गते बैंकको वार्षिकोत्सव पर्दछ । सरकारले गभर्नर नियुक्तीमा ढिलाई गरेमा बैंकको आगामी वार्षिकोत्सव कार्यक्रम कायम मुकायम गभर्नरबाट सम्पन्न हुनेछ ।

सिफारिश समितिको गठनसँगै बजारमा आकांक्षीहरूको चर्चा हुन थालेको छ । यतिखेर बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी र पूर्व कार्यकारी निर्देशक डा। गोबिन्दबहादुर थापाको नाम अगाडी देखिएको छ । अर्थमन्त्रालय स्रोतले भने पूर्व राजश्व सचिव तथा प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लालशंकर घिमिरे र पूर्व अर्थसचिव राजन खनाल पनि गभर्नरको दौडमा रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि आन्तरिक छलफलको सन्दर्भमा बैंकको गभर्नरमा चिरञ्जीवी नेपालको सट्टा अनुभवी र पूर्व एमाले क्याडर भएको भए आफूलाई सजिलो हुने बताएका थिए । त्यसको आधारमा पनि शिवाकोटी, अधिकारी र थापामध्ये एकजनाले गभर्नरमा नियुक्ती पाउने सम्भावना प्रबल देखिन्छ ।