२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः पछि हट्यो सरकार, विवादास्पद स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द



अ+ अ-

काठमाडौं । अन्ततः विवादास्पद स्वास्थ्य उपकरण खरिद गर्न सरकारले गरेको सम्झौता रद्द भएको छ ।

ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको हो । महानिर्देशक महेन्द्र श्रेष्ठले आज सो बारेमा जानकारी दिएका हुन् । कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो ।

त्यस सम्झौताअनुसार सरकारले नेपाल एयरलाइन्सको विमान पठाएर आइतबार व्यक्तिगत सुरक्षा सामग्री पीपीई लगायत धेरै स्वास्थ्य सामग्री पनि ल्याएको थियो । तर त्यस सामग्री खरिदका विषयमा नेपालमा व्यापक मात्रामा विरोध भएको थियो । सो विरोधपछि सरकार उक्त कम्पनीसँगको खरिद सम्झौता नै रद्द गर्ने निर्णयमा पुगेको बताइएको छ ।

उक्त सम्झौता बिना प्रतिस्पर्धा तथा बजार मूल्यभन्दा पनि निकै नै महंगोमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै स्वास्थ्यमन्त्री र सरकारको नै आलोचना भएको थियो ।

विभागका महानिर्देशक श्रेष्ठले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरे । साथै, ओम्नी समूहले सम्झौताअनुसार स्वास्थ्य उपकरण ल्याउन नसकेकाले सम्झौता रद्द गर्ने निर्णय भएको उनले बताए ।

श्रेष्ठकाअनुसार पहिलो खेपमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र आएको छ । १ लाख सेट पीपीई पहिलो लटमा ल्याउने सम्झोता थियो । तर १० हजार थान मात्र आयो । एन ९५ मास्क, ग्लोब्स र सर्जिकल मास्क पनि सम्झौता अनुसार दिन सकेन । पहिलो लटमा १० हजा एन९५ मास्क र र १ लाख जोडा ग्लोब्स मात्र आएको छ ।

तर तेस्रो लटमा ल्याउनुपर्ने ७५ हजार थान र्‍यापिड टेष्ट किटमध्ये ५० हजारथान पहिलो लटमा आइपुगेको छ । र, यो किट प्रयोगका लागि पनि अयोग्य भएको पाइएको छ ।