काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुराको घरमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार छापा मारेको छ ।
देउवाका साला भूषण राणा र उनका बुवाआमा बस्ने ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित छुट्टाछुट्टै दुई घरमा प्रहरीको टोलीले छापा मारेको हो । भूषण निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाकी भाइ हुन् ।
प्रहरी स्रोतका अनुसार शंकास्पद नगद वा अन्य कागजात रहेको सूचनाका आधारमा छापा मारिएको हो । तर, खनतलासीका क्रममा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको सीआईबी अधिकारीहरूले जनाएका छन् ।
छापा मार्ने क्रममा भूषण घरमा थिएनन् भने उनका बुवाआमा भने घरमै थिए । प्रहरीले वडाध्यक्षसहितको रोहवरमा मुचुल्का उठाएको थियो ।
सीआईबीका एक अधिकारीले भने, “भूषण राणा घरमा हुनुहुँदैन थियो । उहाँका बुवाआमाको घरमा पनि केही भेटिएन ।”










