२१ मंसिर २०८२, आईतवार
,
Latest
१०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने जेन–जी आन्दोलनका हिंसात्मक घटना इतिहासकै दुःखद्: पूर्वराष्ट्रपति भण्डारी घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यमा अधिकारी र कटुवाल मनोनित ‘भेडा मरेर के भो मन मरेको छैन’ आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरुरीः मन्त्री खरेल एनपीएलः चार टोलीको नजर पहिलो ट्रफिमा, कसको पल्ला भारी ? पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरियो लोपोन्मुख राउटेको जीवनशैली



अ+ अ-

दोधारा चाँदनी, (कञ्चनपुर) । कुनै समय जङ्गलमा गिठा, तरुल, कन्दमूल आदि आहाराको भरमा जीवन निर्वाह गर्ने राउटेहरु यतिबेला अन्य जातिसँगै समाजमा घुलमिल हुन थालेका छन् । जङ्गलमा रहँदा काठका सामग्री बनाउन नपाएपछि उनीहरु यतिबेला सरकारले दिने सामाजिक सुरक्षा भत्ताको भरमा जीवन निर्वाह गरिरहेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित टुँडिखेलका बडसिंह राउटेले आफूहरु समुदायमा हुने हरेक क्रियाकलापमा सहभागी हुन थालेको बताउँछन् । “सरकारले हामीलाई जङ्गलबाट बस्तीमा ल्यायो, मासिक रुपमा भत्ता दिने गरेको छ, मेरो सीपअनुसार काम नपाएपछि सरकारले दिने भत्तामा बाच्नुपरेको छ”, उहाँले भन्नुभयो ।

जङ्गलमा बस्दा काठबाट विभिन्न सामग्री बनाएर जीविकोपार्जन गर्ने राउटे समुदाय बस्तीमा बस्न थालेपछि जङ्गलबाट काठ ल्याउन नपाएको उहाँको भनाइ छ । जङ्गलबाट फर्किएर अन्य नागरिक जस्तै जीवन बिताउन थाले पनि सीप अनुसारको काम नपाउँदा समस्या भएको उहाँको गुनासो छ ।

“हाम्रा छोराछोरी पढे लेखेका छैनन् । सरकारले रोजगारीको व्यवस्था गरिदिनुपथ्र्यो”, राउटेले भन्नुभयो, “सरकारले तीन महिनामा रु चार हजारका दरले भत्ता दिन्छ । त्यसले मात्रै खाना लाउन खान पुग्दैन ।”

समाजमा अन्य नागरिक सरह जीवन निर्वाह गरिरहेको भए पनि रोजगारीको समस्याका कारण छोरा भारत पसेको यहाँका किरीदेवी राउटेको भनाइ छ । “हामी समाजमा घुलमिल त भएका छौँ तर रोजगारी नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “भत्ताले दैनिकी चलाउन सकस परेपछि छोरा रोजगारीका लागि भारत गएको छ ।”

उहाँले जङ्गली जीवनभन्दा समुदायमै राम्रो लाग्ने गरेको बताउनुभयो । “जङ्गली जीवन छोडेर अन्य नागरिक जस्तै बस्न थालेका छौँ यहीँ राम्रो लाग्छ”, उहाँले भन्नुभयो, “सरकारले हामीलाई आयआर्जन हुने कुरामा जोडिदिएको भए राम्रो हुन्थ्यो ।”

करिब पाँच लाख जनसङ्ख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ । दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको टुँडिखेल बसाइ सरेका राउटेहरु परम्परागत पेसाको विकल्प खोज्न थालेका छन् ।

“हाम्रो पूर्खाको जस्तो सीपले यहाँ गुजारा गर्न गाह्रो छ । गाउँघरमा पाइयो भने मजदुरीमा जाने गरेका छौँ”, अनिता राउटेले भन्नुभयो, “अहिलेको समय सुहाउँदो सीप सिकाएर सरकारले हामीलाई आत्मनिर्भर बनाउन लाग्नुपर्छ ।”

जङ्गलमा बस्दा काठका भाँडाकुँडा अन्नसँग साटेर गुजारा गरेका राउटे अहिले सरकारले दिएको भत्ताले दैनिक आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छन् । पछिल्लो समय समुदायमा हरेक चाडपर्वमा राउटेको सहभागिता हुने गरेको छ । रासस