१६ भाद्र २०८३, मंगलवार
,
Latest
काभ्रेका सात स्थानीय तहद्वारा बाढीपीडितका लागि एक करोड बढी सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन मुख्यमन्त्रीद्वारा नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक निरीक्षण चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा प्रसारणअन्तर्गत रेडियो नेपालको सिंहदरबारस्थित कार्यालयको निरीक्षण गर्नुभएको छ ।

त्यसअवसरमा उहाँले परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको रेडियो नेपाललाई बदलिँदो समयअनुसार अरु सञ्चारमाध्यमसँग प्रतिस्पर्धामा ल्याउने गरी कार्ययोजना अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “रेडियो  नेपाल नेपाली आमसञ्चार माध्यमको इतिहास हो, जनताको जीवनसँग जोडिएको यो संस्था  हाम्रो ऐतिहासिक धरोहर हो, गर्विलो वर्तमान पनि हो । त्यसैले भविष्यमा पनि निजी क्षेत्रका सञ्चारमाध्यमसँग प्रतिस्पर्धी बनाउन विभिन्न कार्यक्रममार्फत जनतालाई जोड्नुपर्छ ।”

उहाँले सूचना प्रविधिको अधिकतम प्रयोग र सामाजिक सञ्जलसँग पनि जोडेर रेडियो नेपाललाई आधुनिक समाज सुहाउँदो बनाउन आग्रह गर्नुभयो । उहाँले रेडियोलाई आधुनिक विश्व र नयाँ पुस्तालाई सुहाउने नयाँ नेपालको साच्चिकै समावेशी आवाज बनाउने कुरामा आफ्नो सहयोग र समर्थन रहने  विश्वास दिलाउनुभयो ।

मन्त्री खरेलले नेपालको प्रसारण पत्रकारितामा पुरानो इतिहास र विरासत बोकेको रेडियो नेपालको समाचार तथा कार्यक्रम सुनेर आमनागरिकले  सूचना लिने  गरेको इतिहास स्मरण गर्नुभयो । उहाँले रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज भएकाले त्यसलाई कार्यान्वयन गर्न समाचार तथा कार्यक्रमका विषय थप समावेशी बनाउन पनि आग्रह गर्नुभयो ।

त्यसअवसरमा मन्त्री खरेलले रेडियो नेपालको सङ्गीत स्टुडियो, प्रसारण स्टुडियो, समाचार कक्ष तथा नाट्य स्टुडियो र भदौ २४ गतेको प्रदर्शनबाट  पुगेको क्षतिको समेत अवलोकन गर्नुभयो ।

यसअघि नवनियुक्त मन्त्री खरेललाई सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टलगायत पदाधिकारीले रेडियो नेपालमा स्वागत गर्नुभएको थियो । रासस