जेनजी प्रदर्शनकारीहरुले ध्वस्त बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सफाई अभियानमा सहकारी पीडितहरु समेत सहभागी भएका छन् ।
शनिवार काठमाडौंको रामशाहपथस्थित सो मन्त्रालयमा उनीहरु सफाई अभियानमा जुटेका हुन् । सो मन्त्रालयको भवनबाट नै छिट्टै सेवाग्राहीको काम हुनसक्ने वातावरण निर्माणमा लागि आफूहरु पनि सफाई अभियानमा सहभागी भएको सहकारी पीडित कुशलभ केसीले जानकारी दिनुभयो । सहकारी वचतकर्ता राष्ट्रिय अभियान महासंघको आह्वानमा सहकारी पीडितहरु सफाई अभियानमा जुटेका हुन् । सरकारले आग्रह गरेपछि आफूहरु आफ्नो माग सम्बोधन हुने विश्वासका साथ सरकारलाई सहयोग पुग्नेगरी स्वयंसेवी काममा सहभागी भएको सहकारी पीडितहरुको भनाई छ ।
सहकारी पीडित केसीले भन्नुभयो,‘हामी सचेत नागरिक हौं । देश बनाउन हामी सक्षम छौं । र हामी स्वयं अहिले सकेको सहयोग गरेर सबैले सरसफाई गरेर श्रम गरेर सहयोग गर्छौं भनेर यहाँ आएका छौँ । आज हामी एक हजार जनाजति यहाँ सहभागी हुन्छौं । र आज यहाँ सबै सरसफाई गरेर काम गर्न हुने वातावरण बनाउने अभियानमा हामी सहभागी भएका छौं । हामीले सरकारसँग समन्वय गरेर यहाँ सफाई गर्न आएका हौ । हामी आन्दोलनमा थियौं । सरकारले सहयोग गर्नुस् भनेपछि यो अभियानमा सहभागी भएका हौ ।’
सहकारी पीडितहरुले आफूहरुको वचत रकम फिर्ता दिन दबाबवस्वरुप आन्दोलन गर्दै आएका छन् ।










