२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनको असर : पशुपतीनाथ र बौद्ध स्तूपा क्षेत्र सुनसान



अ+ अ-

काठमाडौं । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको कारणले काठमाडौंको पशुपतीनाथ क्षेत्र र बौद्ध स्तूपा क्षेत्र सुनसान छन् ।

लकडाउन लागू भएको बिहीबार एक महिना पुग्दै छ । लकडाउनको असर कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिर सबैतिर परेको छ । सधैं भिडभाड रहने विश्व सम्पदा सूचिमा समेत रहेको हिन्दु धर्मावलम्बिहरुको शक्तिपिठ आराध्यदेव पशुपती नाथको मन्दिर क्षेत्र अहिले लकडाउनको कारण सुनसान छ । मन्दिर भित्र नियमित पूजा सञ्चालन भएपनि बाहिरबाट जाने भक्तालुहरुलाई प्रवेशमा रोक लगाइएको छ । मन्दिरको मुख्य प्रवेशद्धार सँगै अन्य ढकोकाहरुमा पनि ताला लगाइएको छ । सामान्य अवस्थामा निकै व्यस्त रहने यस क्षेत्रमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ ।

मानिसहरुको निकै चहलपहल हुने यस क्षेत्रमा अहिले परेवा र बाँदर मात्रै देख्न सकिन्छ । यस्तै पशुपती क्षेत्र विकास कोष परिसर भित्र रहेको आर्यघाटमा पनि लकडाउनको प्रभाव परेको छ । आर्याघाटको दृश्य पहिला जस्तो देखिदैन् । चिताबाट निरन्तर बहने धुवाँ, आफन्तको पिडा र मलामीहरुको भीड हुने आर्यघाट यतिवेला शान्त छ । बुधबार आर्यघाटमा एउटामात्रै सब देखिन्थ्यो । लकडाउनको असरले मलामीहरु पनि निकै कम देखिन्थे । यसबाहेक पशुपती क्षेत्र विकास कोष परिसरमा रहेका विभिन्न पसलहरु पनि बन्द छन् । मानिसहरुको आवागमन निकै कम छ । यस्तै पशुपती क्षेत्रको केही ठाउँमा थालिएको निर्माण कार्यमा भने लकडाउनको असर त्यति देखिएन् । निर्माण कार्य भइराखेको देखिन्छ ।

यस्तै निकै भिडभाड हुने अर्को धार्मिक स्थल बौद्ध क्षेत्र पनि सुनसान देखिन्छ । विश्व सम्पदा सूचिमा रहेको पर्यटकीय स्थल बौद्ध महाचैत्य स्तूपा लकडाउनका कारण सुनसान छ । बौद्धमार्गीहरुको आस्थाको केन्द्र रहेको स्तूपामा हुने नियमित पूजा भने रोकिएको छैन् । तर नियमित पूजाका लागि बाहिरबाट भक्तालुहरु जान पाएका छैनन् । बुधबार त्यस क्षेत्रमा पुग्दा लकडाउनको आदेशलाई पालना गरेको पाइएको छ । यस क्षेत्रमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरु पूर्णरुपमा बन्द छन् । मनिसहरुको आवागमन शुन्य जस्तै छ । सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा आवागमन गर्न खोज्नेहरुलाई रोक्ने गरेका छन् । बौद्ध क्षेत्र परिसरमा थालिएको केही निर्माण कार्य भने लकडाउनको कारण प्रभावित भएको छ । भुइमा इट्टाहरु छरिएर रहेका छन भने कुनैपनि काम भएको छैन् ।