२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरराजनीतिक व्यक्ति मात्र रहने गरी मन्त्रिपरिषद् बढीमा ११ सदस्यीय हुने



प्रधानमन्त्री सुशीला कार्की । फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्रीहरूको संख्या ११ जनाभन्दा नबढाउने बताउनुभएको छ ।

बीबीसी नेपाली सेवासँगको विशेष अन्तर्वार्तामा उहाँले आगामी दिनमा थपिने मन्त्रीहरू पनि कुनै राजनीतिक पार्टी वा त्यससँग आबद्ध व्यक्ति नहुने स्पष्ट पार्नुभयो ।

कार्कीले हालसम्म तीन जना मन्त्री नियुक्त भइसकेको जानकारी दिँदै अब थपिने मन्त्रीहरूको छनोटमा समावेशिता र क्षमता दुवैलाई आधार बनाइने बताउनुभयो ।

“मन्त्रिपरिषद् करिब १० देखि ११ भित्रै राख्ने हो, कसको के क्षमता छ त्यही अनुसार जिम्मेवारी दिने,” उहाँको भनाइ उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

उहाँका अनुसार राजनीतिक रूपमा आबद्ध व्यक्ति मन्त्रिपरिषद्मा समावेश हुँदा निर्वाचनको तयारीमा ध्यान नजान सक्ने भएकाले चुनाव नलड्ने, गैर–राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई मन्त्रीमा ल्याइनेछ ।

“पोलिटिक्समा नरहनु भएका, कुनै संस्थामा काम गरेका योग्य मान्छे खोजिँदै छ,” प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

सरकारले मन्त्री छनोटमा अनुभव र निष्पक्षतालाई प्राथमिकता दिने र निर्वाचन व्यवस्थापनमा फोकस गर्न सक्षम टोली तयार पार्ने तयारी गरेको उहाँले स्पष्ट पार्नुभएको छ ।