१० श्रावण २०८३, आईतवार
,
Latest
चाइनाबजार ई–कमर्स प्लेटफर्म साउन १३ गतेदेखि सञ्चालनमा आउने वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण



अ+ अ-

काठमाडौं – नेपाली चलचित्र उद्योगमा सर्वाधिक प्रतीक्षा गरिएको चलचित्र’बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा सङ्गीत सुजन चापागाईँको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।

गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।

गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।

गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले कलाको माध्यमबाट देशलाई केही दिने सपना तीन वर्षअघि मनमा उम्लिएको स्मरण गरेका छन्। “प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो। अन्यायले नागरिकलाई निरन्तर घेरिरहँदा लाग्यो, आमा र मातृभूमिको लागि एउटा युवा कति टाढासम्म जान सक्छ भन्ने कुरा कलाबाटै देखाउनुपर्छ। यही सोचबाट ‘बलिदान’ जन्मियो,” उनले थपे, “आज जेन–जी पुस्ताको रक्तस्नानले देशलाई नयाँ युग दिएको छ। त्यसैले ‘बलिदान’ केवल कल्पना मात्र नभई वास्तविकताको प्रतिध्वनि हो। यो चलचित्र पर्दाको संवाद मात्र होइन, देशको घाउको चीत्कार पनि हो।”

‘आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। चलचित्रमा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ।

यसअघि सार्वजनिक पोस्टर, प्रि–टिजर र टिजरले व्यापक चर्चा पाइरहेका बेला ओएसटी गीतले चलचित्रप्रतिको उत्साह अझ बढाएको छ। निर्देशक सेनले केही दिनमै ट्रेलर सार्वजनिक हुने जानकारी पनि दिएका छन्। यो चलचित्र बडादसैँको फूलपातीका दिन (असोज १३) देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।