१० श्रावण २०८३, आईतवार
,
Latest
वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल त्रिवि एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन एआईको भाषिक असन्तुलनले विकासशील देशहरूलाई कसरी पछाडि पार्दैछ? कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा. सन्दुक रूईतद्वारा राजनीतिबाट टाढा रहने घोषणा, भने–मेरो साधना नै अन्धोपन निवारण हो



अ+ अ-

काठमाडौं । वरिष्ठ नेत्र विशेषज्ञ तथा सामुदायिक स्वास्थ्य सेवामा सक्रिय डा. सन्दुक रूईतले आफू कुनै पनि राजनीतिक पद वा नेतृत्वको प्रतिस्पर्धामा नजाने स्पष्ट पारेका छन् ।

भदौ २३ र २४ मा जेनजी समूहले राजनीतिक अव्यवस्था र भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

रूईतले प्रदर्शनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भनेका छन्, “लामो चिकित्सकीय यात्रामा मलाई तह र तप्का सबै तहका नेपालीले साथ दिनुभयो, मलाई भोलिका दिनमा पनि त्यो साथ, सद्भाव र माया प्राप्त हुन्छ भन्नेमा कुनै द्विविधा छैन ।”

उक्त विज्ञप्तिमा उनले अन्धोपन निवारणलाई आफ्नो जीवनको मुख्य साधना बताउँदै लेखेका छन्, “मलाई हरेक राजनीतिक उतारचढावपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्नुपर्ने अनुरोध आउने गरेको छ । तर, म स्पष्ट छु— मेरो कर्म भनेको नेपाली र संसारभरका विरामीको सेवामा आफ्नो सीप, ज्ञान र समय दिनु हो । नेपाल र नेपालीको नाम संसारभर पुर्याउनु हो । मेरो हृदय सफा छ, म यसमा खुशी छु ।”

रूईतले सबैलाई आफ्नो पेशा र कर्ममा इमान्दारीपूर्वक लागेर देशमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गरेका छन्।

“अबको समय भनेको सबै जुटेर देश बनाउने हो,” विज्ञप्तिको अन्त्यमा उनले भनेका छन् ।

डा. सन्दुक रूईत विगत तीन दशकदेखि आँखासम्बन्धी स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएका छन् । उनी सस्तो र सरल प्रविधिबाट मोतियाबिन्दु उपचारको प्रभावकारी विधि विकास गरी विश्वभर परिचित छन् ।