१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपूतले भाइहरूलाई भने जेन–जी अभियानमा सहभागी हुनु ,संयमित रहनु, एकैपटकमा नथाक्नु



अ+ अ-

काठमाडौं । गायक प्रकाश सपूतले भोलि सोमबार जेन–जीले गर्न लागेको भ्रष्टाचारविरुद्धको प्रदर्शनमा सहभागी भाइहरूलाई आग्रह गरेका छन्।

सरकारले ‘प्रतिबन्ध’ लगाएको सामाजिक सञ्जाल फेसबुकमार्फत सपूतले आफ्ना २५ र २६ वर्षीय भाइहरूलाई प्रदर्शनमा सहभागी हुन आग्रह गर्दे भोलि आन्दोलनमा साथीहरूलाई पानी किनेर बाँड्न भनेका छन् ।

दुवै भाइको खातामा २५–२५ हजार रुपैयाँ पठाएको उल्लेख गर्दै उनले लेखेका छन्, ‘पैसाले पानी किनेर बाँड्नु र भन्नु साथीहरूलाई–हाइड्रेड रहनु, संयमित रहनु, एकैपटकमा नथाक्नु।

उनले लेखेका छन्

प्रिय भाइहरु,

सुनिल (२५ वर्ष ) सचिन (२६ वर्ष ) !

भोली तिमीहरु पनि जानु ! तिमीहरु केही बोल्नै पर्दैन ।तिमीहरुको अनुहारमा प्रष्ट देखिने अन्योल भविष्यको चिन्ताले नै धेरै थोक बोलिसकेको हुनेछ । आँखामा प्रश्न लिएर समूहमा चुपचाप उभिनु पनि आन्दोलन हो ।भोली हुने तिम्रो पुस्ताको नयाँ स्वरुपको आन्दोलन हेर्न म निकै उत्साहित छु । किनकि हाम्रो पुस्ताले पनि जीवनमा थुप्रै आन्दोलन गर्यौ अझ भनौ, युद्द नै भोग्यौ । त्यो आन्दोलनको नेतृत्व गरेकाहरुलाई खत्रै मान्यौ । व्यवस्था फेरेर तिनैलाई विश्वास गरेर पठायौ । गर्लान नि भन्ने आशा गर्यौ ।तर.. छोड़ यार अब यो कथा धेरै रिपिट भयो । उनीहरुले आफ्नो योगदान भन्दा बढि फाईदा लिइ सके ।

जे होस भोली तिमीहरु जानु । मैले तिमीहरुको ख़ातामा २५/२५ हज़ार रुपैया पठाईदिएको छु । जुन गत महिना युटुबबाट कर काटेर आएको थियो । थाहा छैन अब आउछ कि आउदैन !

अँ, त्यो पैसा ले पानी किनेर बाँड्नु र भन्नु साथीहरुलाई- “हाईड्रेड रहनु , संयमित रहनु, एकै पटकमा नथाक्नु ।”किनकि आफ्नै नेतृत्वमा आन्दोलन गरेर ठाउँमा पुगे पछि जनताको आवाज र आन्दोलन दबाउन सक्नेहरुले एक्कै पटकमा मान्ने छैनन्, बुझ्ने छैनन् र गल्ने छैनन् । यिनीहरुलाई बुझाउन र गलाउन तिमीहरु पटक-पटक संगै उभिनु पर्नेछ ।यसपाली उनीहरुलाई जेन जी को सांकेतिक प्रर्दशनले गहिरो महुशुस होस् कि समय धेरै अगाडि गइसकेछ ।आजको गतिशील दुनियाँमा हामी र हाम्रो देशलाई कति पछाडि पारिसकेछौ ।

भोली तिमीहरु जानु र सुरक्षित फर्किनु साझ घरमा परिवार कुरिरहको हुनेछ ! Go ahead guys !