काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरेका तीन जनालाई अनुसन्धानका लागि प्रहरीलाई तीन दिनको म्याद थपको अनुमति दिएको छ ।
पक्राउपर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१ साङ्ला बस्ने ४१ वर्षीय विराजसिंह लवट खत्री, सोही ठाउँका ४४ वर्षीय राजलवट खत्री तथा तारकेश्वर नगरपालिका–७ फुटुङ बस्ने ३९ वर्षीय सन्तोष महर्जन रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “सोमबार दिउँसो काठमाडौँ तारकेश्वर नगरपालिका–१ स्थित एकघरमा अपरिचित मानिस प्रवेश गरी एक व्यक्तिलाई लिएर गएको भन्ने सूचनाका आधारमा प्रहरीवृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उक्त घरबाट मोबाइल अफ गरी राखी राखेका अवस्थामा फेला पारी निज व्यक्तिको उद्धार गरी सो कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो ।” उनीहरूको आज तीन दिनको म्याद थप अनुमति प्राप्त भई प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताउनुभयो ।
गाँजासहित भारतीय पक्राउ
प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजाजस्तो देखिने वस्तुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउपर्नेमा भारतीय नागरिक ४० वर्षीय मत्र पथ्रत अली अकबर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्ष विनोद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “एयर एसियाको उडानद्वारा बैंककबाट काठमाडौँ आएका निजलाई जाँच गर्ने क्रममा निजको लगेजबाट करिब एक किलो ७८० ग्राम लागुऔषध गाँजा फेला पारी पक्राउ गरिएको हो ।”
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले निज पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको प्रवक्ता घिमिरेले बताउनुभयो ।रासस










