३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनाममा टाइफुन काजिकीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो



अ+ अ-

एजेन्सी । भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार मध्य भियतनाममा आएको आँधीले १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा)को वेगमा चलेको हावाले हजारौँ घरका छत उडाएको छ भने र १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।

मङ्गलबारसम्म तीन जनाको मृत्यु र १३ जना घाइते भएको पुष्टि भएको छ । अधिकारीहरूले आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरेका छन् ।

भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौँ रूख र छतका प्यानल हटाइरहेका थिए । “एउटा भवनको आठौँ तलाबाट ठूलो स्टिलको छत उडेर सडकमा खस्यो, भाग्यवश कसैलाई चोट लागेन”, ६५ वर्षीय ट्रान भ्यान हङले भन्नुभयो ।

भियतनाम बर्सेनि टाइफुनको मारमा पर्छ, तर जलवायु परिवर्तनका कारण यी आँधीबेहरी अझै तीव्र र अप्रत्याशित बन्दै गएका छन् । यसले उष्णकटिबन्धीय क्षेत्रमा बाढी र विनाशकारी आँधीबेहरीको सम्भावना बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भिन्हकी ६० वर्षीया गुयेन थी होआले भन्नुभयो, “हामीलाई वर्षा र बाढीको बानी परिसकेको छ तर हिजो जस्तो तीव्र हावा र त्यसको विनाशकारी प्रभाव पहिले कहिल्यै अनुभव गरेको थिइनँ ।”

बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

– हनोईमा अराजकता –

राजधानी हनोईमा भारी वर्षाले सडक डुबाउँदा बिहानैदेखि यातायात पूर्ण रूपमा अस्तव्यस्त बनेको छ । “आज बिहान पैदल हिँड्नै असम्भव थियो, घरअगाडिको आँगनसमेत बाढीले भरिएको छ”, ४४ वर्षीया न्गुयेन थु लानले भन्नुभयो ।

अर्का बासिन्दा ट्रान लु फुकले भन्नुभयो, “म एक घण्टाभन्दा बढी सडकमा फसेँ । कालो पानीमा गाडीहरू अड्किएर ठूलो लगजाम भयो । ट्राफिक र बाढी दुवै डरलाग्दो थियो ।”

प्रहार गरेपछि कमजोर बनेको काजिकी पश्चिमतर्फ लाओस पस्दा त्यहाँ पनि तीव्र वर्षा ल्यायो । लाओस–चीन रेलमार्गले सोमबार र मङ्गलबार सबै सेवा रोकेको छ भने केही सडक विच्छेद भएका छन् तर मृत्युको समाचार आएको छैन ।

कृषि मन्त्रालयका अनुसार, यस वर्षको पहिलो सात महिनामै प्राकृतिक प्रकोपले भियतनाममा एक सयभन्दा बढी मानिस मारिएका वा हराएका छन् ।

गत सेप्टेम्बरमा आएको टाइफुन यागीले भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मामा सात सयभन्दा बढी मानिसको ज्यान लिएको र अर्बौं डलरको क्षति गरेको थियो ।