७ मंसिर २०८१, शुक्रबार
,
Latest
राष्ट्रपति पौडेल र सभामुख घिमिरे बीच भेटवार्ता अर्थतन्त्रलाई खलबल्याउन कम्बोडियामा लगानीको अफवाह फैलाइयोः प्रधानमन्त्री ओली विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छः अध्यक्ष दाहाल चीनको भ्रमण घुम्नका लागि होईन : प्रधानमन्त्री २०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छः प्रधानमन्त्री ओली विकास, समृद्धि र सुशासनको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौंः प्रधानमन्त्री चीनद्वारा २९ देशका लागि एकपक्षीय भिसा मुक्त नीति लागुः विदेश मन्त्रालय सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयोः मुख्यमन्त्री पाण्डे बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत नेपालका राजनीतिक दलहरुमध्ये सबैभन्दा दूरदर्शी नेतृत्व नेकपा एमालेसँग छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्समा रहेका नेपालीहरू स्वदेश फर्कन नपाएर छटपटाउँदै



अ+ अ-

नेपाल सरकारले समयमै उद्धारका लागि चासो नदेखाउँदा माल्दिभ्समा रहेका नेपालीहरू स्वदेश फर्कन नपाएर छटपटाइरहेका छन् । त्यसमाथि विगत केही दिनयता माल्दिभ्समा बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उनीहरूलाई थप त्रसित बनाएको छ । माल्दिभ्समा हालसम्म एक हजार नब्बे जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १४ जना नेपाली छन् । 
माल्दिभ्समा कोरोना भाइरसको पहिलो संक्रमण ७ मार्चमा पुष्टि भएको थियो । त्यसपछि क्रमशः अन्तर्राष्ट्रिय उडानदेखि लकडाउनसम्म लागू गरिएको छ । अन्य मुलुकका नागरिकहरूजस्तै माल्दिभ्स आउने नेपालीमध्ये अधिकांश पर्यटन क्षेत्रमा काम गर्ने गरेका छन् । तर, कोभिड–१९ को महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको प्रमुख आधार पर्यटन क्षेत्र नै धराशायी बन्न पुगेको छ ।युरोपेली, चिनियाँ, अस्ट्रेलियनदेखि भारतीय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चिनिन्छ माल्दिभ्स । त्यहाँ रहेका अधिकांश होटल, रिसोर्टहरूमा पनि विदेशी लगानी नै छ । महामारीका कारण माल्दिभ्सको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र अहिले ठप्प छ । होटल, रेस्टुराँ तीन महिनादेखि बन्द छन् । जबकि माल्दिभ्सले यो वर्षमात्र वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो । त्यो लक्ष्यमा ठूलो धक्का लागेको छ ।

माल्दिभ्सले वार्षिक गर्ने कुल विदेशी मुद्रा आम्दानीमा पर्यटन क्षेत्रको योगदान ६० प्रतिशत हुने गरेको छ । महामारीका कारण अर्थतन्त्रलाई अकल्पनीय क्षति पुगेको माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमेद सोलिहले नै सार्वजनिक रूपमा बताइसकेका छन् । मार्च १५ मा सार्क सदस्य राष्ट्रका प्रमुख र उच्च अधिकारीहरूबीच भएको भिडियो कन्फरेन्सका क्रममा राष्ट्रपति सोलिहले कोरोना महामारीले माल्दिभ्सको अर्थतन्त्रमा नराम्रो धक्का पुगेको र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको बताएका थिए । सोलिहले दुई महिनाअघि अर्थतन्त्रको त्यस्तो तस्बिर पस्किँदा माल्दिभ्समा भाइरसको संक्रमण न्यून थियो । पछिल्लो दुई महिनामा संक्रमणमा निकै वृद्धि भएको छ । यसबाट पनि माल्दिभ्सको अर्थतन्त्रमा पुगेको क्षति सहजै सहजै अनुमान लगाउन सकिन्छ । त्यसको प्रत्यक्ष असर १० हजारको संख्यामा रहेका नेपाली कामदारहरूलाई पनि परेको छ । कतिपय नेपालीहरूको रोजगारी गुमेको छ भने धेरैको भने व्यापार व्यवसाय कम हुँदा घर फर्कने दिन पर्खँदै दिन कटाइरहेका छन् । त्यहाँ रहेका नेपालीमध्ये अधिकांश रिसोर्ट, होटल र रेस्टुराँ काम गर्दै आएका छन् । तर, विगत दुई महिनादेखि रिसोर्ट बन्द हुँदा उनीहरू त्यत्तिकै बस्नुपरेको छ । हाउस मेडको संख्या पनि ठूलै छ । माल्दिभ्समा रहेका नेपालीहरूका अनुसार करिब दुई हजारको संख्यामा नेपाली हाउस मेड छन् । माल्दिभ्समा नेपाली चिकित्सकहरू मात्र २ सयको हाराहारीमा छन् । चिकित्सकहरू सबै मालेमा छन् । सरकारी अस्पतालमा काम गर्छन् । महिनामा कम्तीमा ९ लाख रुपैयाँ जति कमाउँछन् । त्यसैगरी २ हजारको हाराहारीमा घरेलु कामदारका रूपमा नेपाली महिलाहरू छन् । दुई सयभन्दा बढी विभिन्न कन्स्ट्रक्सन कम्पनीमा काम गर्छन् ।

कतिपय नेपालीहरूले त आफ्नै व्यवसाय पनि सुरु गरेका छन् । तिनैमध्येका हुन् पर्वतका मेघनाथ भुसाल । भुसाल मालेमा बस्न थालेको झन्डै दुई दशक भयो । महामारी सुरु हुनुअघिसम्म उनको रेस्टुराँ र होटलको व्यवसाय राम्रै थियो । तर, लकडाउनका कारण पुरै व्यवसाय ठप्प छ । उनकोमा काम गर्ने नेपालीहरू पनि बेरोजगार भएका छन् । डेढ वर्षदेखि पाइराइडाइज रिसोर्ट एन्ड स्पा काम गर्दै आएकी थिइन् मोरङकी सन्ध्या बराल । रिसोर्ट बन्द भएकाले उनी पनि घर जाने पर्खाइमा छिन् । बिर्तामोड, झापाका अन्जन उप्रेती माल्दिभ्स आएको दुई महिना पनि भएको थिएन लकडाउन सुरु भयो । उनी अस्ट्रेलियन रिसोर्टमा काम गर्न पुगेका थिए । उक्त रिसोर्ट अप्रिलमा उद्घाटन गर्ने कार्यक्रम थियो । तर, लकडाउनका कारण स्थगित भयो । भर्खर आएको भए पनि उप्रेती पनि घर जाने बाटो हेरिरहेका छन् । केही समयअघि कान्तिपुरसँगको कुराकानी उप्रेतीले जागिरभन्दा ज्यान ठूलो भएकाले छिटो घर जान चाहेको बताएका थिए ।

घर फिर्ने दिन पर्खाइमा रहेका उनीहरूलगायत अधिकांश नेपालीहरूको जीवन लामो समयको लकडाउन र बढ्दो संक्रमणले त्यहाँ रहेका नेपालीहरूको जीवन अत्यासलाग्दो बनेको छ । नहोस् पनि कसरी ? उनीहरूकै आँखै अगाडि त्यहाँ रहेका विदेशीहरूमध्ये अधिकांशको उद्धार भइसकेको छ । उद्धार नहुनेमा नेपाली र बंगलादेशी मात्र रहेको त्यहाँ कार्यरत नेपालीहरूको भनाइ छ । भारतले पनि पछिल्लो समय आफ्ना नागरिकलाई उद्धारलाई तीव्रता दिएको छ । विदेशमा रहेका भारतीयहरूको उद्धारका लागि बन्दे भारत अभियान नै सुरु गरिएको छ । माल्दिभ्समा करिब ३० हजार भारतीय छन् । १५ सयभन्दा बढीको उद्धार भइसकेको छ । उनीहरूलाई पानी जहाजबाट उद्धार गरिएको हो ।

जबकि भारत सरकारले आफ्नै खर्चमा नागरिकहरूको उद्धार गरिरहँदा नेपालीहरूले काठमाडौंसम्म लाग्ने हवाई भाडा आफै व्यहोर्ने पनि जनाए । माल्दिभ्सका नेपालीहरूले घर फिर्तीका लागि सरकारदेखि नेतासम्म गुहारे । पत्रपत्रिकामार्फत आफ्नो पीडा पोखे । सामाजिक सन्जालमा लेखे । तर, उनीहरूको कुनै सुनुवाइ भएको छैन । सरकारीस्तरबाट औपचारिकता मात्र निभाइयो । माल्दिभ्स हेर्ने कोलम्बोस्थित नेपाली दूतावासका कर्मचारीले एकाधपटक फोन घुमाए । तर, त्यहाँ रहेका नेपालीहरूको उद्धारका लागि कुनै ठोस पहल भएन । माल्दिभ्स सरकारले विदेशी नागरिकलाई आआफ्नो देश फर्कन खुला पनि गरेको छ । तर, नेपालबाट कुनै पहल नहुँदा त्यहाँ रहेका नेपालीहरूको उद्धार हुन सकेको छैन । तर उनीहरूका आँखा सामुन्ने नै सँगै काम गर्ने अन्य मुलुकका नागरिकहरू धमाधम घर फर्किरहेका छन् । ह्वाट्सअपमा छिनछिनमा आउने विदेशी नागरिक उद्धार भएका सूचनाहरूले उनीहरूलाई झन् व्यग्र बनाउँछ । ‘आँखा सामुन्ने अरू देशका साथीहरूलाई तिनीहरूको सरकारले उद्धार गर्दा मन दुख्दो रहेछ,’ माल्दिभ्सकै एउटा रिसोर्टमा कार्यरत बर्दियाका सरोज चापागाईँले फोनमा भने । अवस्था सामान्य भएको भए चापागाईं यतिबेला परिवारसँगै घरमा हुन्थे । उनले मेको पहिलो सातामा घर जानका लागि पहिलेदेखि नै तयारी पनि थालेका थिए । तर, महामारीका कारण नियमित उडान बन्द हुँदा उनी माल्दिभ्समै रोकिएका छन् । ‘सरकारबाट आस गर्दागर्दा थाकियो, अब त जहिले नियमित उडान होला त्यतिबेला जानुपर्ला,’ उनले भने ।

राज्यले समयमा उद्धार नगर्दा हवाई भाडा चर्किएका कारण लकडाउन खुले पनि नेपालीहरू घर फर्किन नसक्ने बन्दै गएको छ । मालदिभ्सका लागि सिधा नभएका कारण काठमाडौंबाट दोहा, ओमन, दुबई वा दिल्लीको रुट हुँदै जानुपर्छ । जसको सामान्य अवस्था एकतर्फी भाडा बढीमा पाँच सय डलर हुने गर्छ । तर, कतार एअरवेजलगायतका हवाईसेवा कम्पनीहरूले जुनदेखि हवाई भाडा डेढ गुणासम्म बढाएको घोषणा गरिसकेका छन् । जसले गर्दा न्यून तलबमा काम गर्ने नेपाली कामदारहरूलाई लकडाउन खुले पनि घर फर्किन सहज छैन । ‘एक त काम घरमै बस्नुपरेका कारण धेरैको खानमै खर्च भएको छ, बचत छैन त्यसमाथि हवाई भाडा बढेको छ, त्यसैले धेरैले चाहेर पनि जान सक्दैनन्,’ चापागाईंले भने । कान्तिपुर दैनिक