काठमाडौं। रक्षा बन्धनको अवसरमा निता फिल्म्सको प्रस्तुति नेपाली फिल्म ‘पार्वती’का दुई फरक मूडका पोस्टर सार्वजनिक भएका छन्।
अभिनेत्री निता ढुंगाना अधिकारीको निर्देशनमा बन्न लागेको यस फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। निर्माणपक्षका अनुसार ‘पार्वती’ आगामी माघ १ गते प्रदर्शनमा आउनेछ।
पहिलो पोस्टरमा मुख्य पात्र ‘पार्वती’लाई पहेंलो छातामुनि, सिठी र पानीको बोतल बोकेर गम्भीर मुद्रामा देखाइएको छ, जसले उनको जीवनका चुनौती, सोचमग्न स्वभाव र भित्रको संवेदनशीलता झल्काउँछ। दोस्रो पोस्टरमा भने उनी गाउँले पोशाकमै हल्का मुस्कान र लजालु अन्दाजमा प्रस्तुत भएकी छन्, जसले बालपनको रमाइलो, निराशता र जीवनप्रतिको सहज दृष्टिकोणलाई संकेत गर्छ।
फिल्मको कथा निता ढुंगानाले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका छन्। छायांकन कविर लाल र शाहिद लालले गर्नेछन्। निर्माण टिममा सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना रहेका छन्। निर्माणपक्षका अनुसार ‘पार्वती’ हास्य, भावना र सामाजिक सन्देश मिसिएको कथा हो, जसमा एक साधारण पात्रको दृष्टिबाट जीवनका रंग, सम्बन्धका मिठास र संघर्षका भाव प्रस्तुत गरिनेछ।
असोजदेखि छायांकन सुरु हुने फिल्मका कलाकार र थप प्राविधिकबारे विवरण चाँडै सार्वजनिक गरिने निर्देशक अधिकारीले जनाएकी छन्। उपत्यकामा वितरणको जिम्मा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले लिएका छन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।










