गण्डकी। कानुन तथा संसदीय व्यवस्था मन्त्रालयले मुलुकी अपराधसंहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागले ध्यानाकर्षण भएको जनाएको छ ।
विभागद्वारा आज पोखरामा आयोजित महिलाहरूको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षणपत्र बुझाएको छ ।
महिलाको आत्मसम्मानमा ठेस पुर्याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गर्ने अभिप्रायले सरकारले ल्याएको बहुविवाह गर्न पाउनेसम्बन्धी कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन ध्यानाकर्षण पत्रमा चेतावनी दिइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सभापति शर्माले उल्लेखित विषयलाई सम्बन्धित ठाउँमा पु-याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद् नहुने उहाँले स्पष्ट पार्नुभयो ।
प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागी महिला एवं विभागका प्रमुखहरुले नेपाली कांग्रेसको सङ्गठन र भावी कार्यदिशाबारे आ–आफ्ना धारणा राख्नुुभएको थियो ।










