१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशीको ग्रहदशा कटाउन नेपालबाट यज्ञ



अ+ अ-

काठमाडौँ। वैदिकविधि अनुसार विदेशीमा रहेकाको ग्रहदशा कटाउन ज्योतिषीको सल्लाह अनुसार नेपालमा दैनिक यज्ञ सञ्चालन भइरहेको छ ।

दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा एक दशकअघिदेखि यस्तो यज्ञ भइरहेको हो । नेपाल महर्षि फाउन्डेसन फर वैदिक कल्चरले विदेशबाट अनलाइन माध्यमबाट आउने अनुरोधको यज्ञ गराउँदै आइएको आज यहाँ आयोजित धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन)सँगको अन्तरक्रियामा जानकारी गराइएको हो ।

फाउन्डेसनको कार्यालय सिफलमा हुँदादेखि यस्तो यज्ञ आयोजना हुँदै आएकामा चम्पादेवीमा आफ्नै भवन निर्माण गरी सरेपछि पनि यसलाई निरन्तरता दिइएको संस्थाका अध्यक्ष एवं पूर्व गृह राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई महिनादेखि जर्मनीको शान्तिको सङ्कल्पले ५१ जना वैदिक पण्डितबाट यज्ञ गराइरहेको हो ।

आद्य शङ्कराचार्यले स्थापना गर्नुभएका चार मठमध्ये ज्योर्तिमठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीका चेला महर्षि महेश योगीका जर्मनस्थित भक्तको सहयोगमा त्यहाँको शान्तिको सङ्कल्प गर्दै यज्ञ भइरहेको बाँस्कोटाले उल्लेख गर्नुभयो । “यज्ञमा ५१ जना पण्डित दुई महिनादेखि पूजापाठ, जपलगायत कर्म गरिरहेका छन् भने अन्य विदेशीको पनि यज्ञ भइरहेको छ । ब्रह्मानन्द सरस्वती ग्राममा हाल १८१ पण्डितले यज्ञ गरिरहेका हुन्”, उहाँले भन्नुभयो ।

युरोप र अमेरिकाका महर्षिका अन्य भक्तले ज्योतिषीले दिएको सल्लाहअनुसार नेपाली पण्डितबाट यज्ञ हुँदै आएको जनाउँदै उहाँले यहाँ यज्ञ गर्ने पण्डितले बिहान नित्य कर्म सकेर भावातित् ध्यानपश्चात् यज्ञ गर्ने भएकाले यस्तो यज्ञ प्रभावकारी हुने वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको बताउनुभयो ।

महर्षि महेश योगीले भावातित् ध्यान र यज्ञमा उच्चारण हुने वैदिक मन्त्रले कसरी प्रभाव पार्छ भनी वैज्ञानिक अनुसन्धान गराउनुभएको थियो । ब्रह्मानन्द सरस्वती ग्राम २६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

यहाँ बनाइएका भवन एवं यज्ञशाला स्थापत्यवेदको वास्तुशास्त्रका ग्रन्थमा उल्लेख गरिएको नियम पालना गरी बनाएका वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार भौगोलिक वास्तु अनुसार पनि पूर्व र उत्तर भिरालो रहेको, पश्चिम र दक्षिणतर्फ अग्लो रहेको यो भूभाग पवित्र मानिने र यस्ता स्थलमा गरिएको यज्ञलगायत कर्म सफल हुने वास्तुशास्त्रीय ग्रन्थहरूमा वर्णन गरिएको छ ।

ग्राममा गौशाला पनि स्थापना गरी तीन वटा गाई पालिएको छ । यज्ञका लागि गाईको दूध, दही, घ्यू, गहुँत र गोबर यहाँ पालिएका गाईबाट प्राप्त हुने गरेको संस्थाका अध्यक्ष बाँस्कोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गौशालासँगै फाउन्डेसनले १५ रोपनी जग्गा भाडामा लिएर वैदिक खेती पनि गरिरहेको छ । “जहाँ विषादी प्रयोग गरिँदैन । गाईको मल हाल्ने गरिएको छ । यहाँ उत्पादित तरकारी विषादीरहित हुन्छन्”, उहाँले भन्नुभयो ।

अन्तरक्रियामा फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले धर्म, संस्कृतिलगायत सकारात्मक विषयको पत्रकारिता कम भइरहेका बेला स्थापना भएको विधागत पत्रकारको संस्था धार्मिक, सांस्कृतिक पत्रकार समाजले उदाहरणीय काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । धार्मिक, सांस्कृतिक पत्रकारले शुद्धीकरण आफैँबाट गर्न नियमित बिहान, बेलुका ध्यान गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीद बागचन्दले अहिले समाजमा सकारात्मक पत्रकारिता आवश्कता रहेको बताउँदै त्यसको नेतृत्व धार्मिक, सांस्कृतिक विधाका पत्रकारले गर्नसक्ने धारणा राख्नुभयो । यसका लागि ठूला सञ्चार गृहमा धार्मिक, सांस्कृतिक पत्रकारको संस्था पुग्नुपर्ने उहाँले सुझाव दिनुभयो । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीले नेपाल ऋषिमुनिको देश भए पनि कताकता केके नमिलेजस्तो अवस्था रहेकाले ती विषयमा रेक्जोन र सम्बन्धित संस्थाको अग्रसरतामा बहस गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले फाउन्डेसनजस्तै धर्म, संस्कृतिको क्षेत्रमा काम गर्ने अन्य संस्थासँग सहकार्यमार्फ बहस गर्दै यस क्षेत्रमा काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । पत्रकारलाई बिहान, बेलुका ध्यान गराएर पत्रकारिता क्षेत्रमा लगाउन सके सकारात्मक प्रभाव हुने भएकाले त्यसतर्फ पनि संस्थाले काम गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

फाउन्डेसनका ध्यान एवं सिद्धि प्रशिक्षक माधव अर्यालले भावातित् ध्यानले व्यक्तित्व विकास, स्वास्थ्य, अरुसँग गर्ने व्यवहार, शान्ति स्थापनालगायत क्षेत्रमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । यसका लागि ध्यान सिकेर विधिअनुसार दिनमा दुईपटक बिहान र बेलुका नियमित २०/२० मिनेट अभ्यास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फाउन्डेसनका ध्यान शिक्षक भरतराज पौडेलले महर्षि योगीले विसं २०३१ मा नेपाल आएका बेला खुला मञ्चबाट हजारौँलाई ध्यान सिकाउनुभएको स्मरण गर्दै त्यसैबेला वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भन्नुभए अनुसार अहिले काम भइरहेको बताउनुभयो । रासस