२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलेश्वरमा गतआवमा ७३ लाख भेटी सङ्कलन



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८१र ८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०र ८१ मा कुल रु ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो । ०८१र८२ मा नियमित रु ४७ लाख १० हजार २९० र मेलापर्वमा रु २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।

भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा रु ९४ लाख १५ हजार १७ आम्दानी भएको उहाँले बताउनुभयो । यज्ञ दर्ताबाट रु चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा रु सात लाख १९ हजार ७१४, सहयोग रु तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत रु पाँच लाख ४६ हजार ७७० आम्दानी भएको छ ।

गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन् । मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ ।

गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा रु १५ लाख खर्चेर सभाहल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा रु छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन रु एक लाख सहयोग गरिएको अध्यक्ष रेग्मीले बताउनुभयो ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दू धर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुुने धार्मिक विश्वास छ । रासस