काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले स्थानीय सरकारलाई ब्युँझाउन जरुरी रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले यसलाई प्रभावकारी रुपमा अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार भएको र प्रदेश सरकार नजिक एउटा सरकार छ रे भनेर सुन्ने सरकार भएको भन्दै स्थानीय सरकार नै जनताको नजिकको सरकार भएको बताउनु यो ।
उहाँले भन्नुभयो, ‘स्थानीय सरकारलाई हामीले अलि ब्युँझाउने कोशिस गरेका छैनौँ । संघ सरकार भनेको टेलिभिजनबाट जनताले देख्ने सरकार हो । प्रदेश सरकार भनेको हामी नजिकै एउटा सरकार छ रे भनेर सुन्ने सरकार हो । स्थानीय सरकार भनेको घरमा मान्छे मर्दा कात्रो किन्ने पैसा भएन भने मेरो घरमा लाश उठेन भनेर कात्रो किन्नलाई गएर पालिकाको प्रमुखको घुँडामा टाउको राखेर रुन पाउने सरकार हो । त्यो सरकार आज के छ ? ठिक ढंगले चलिरहेको छ की छैन की ?’
सांसद पाण्डेले स्थानीय सरकारमा रहेका जनप्रतिनिधिहरुले जनताको हितमा राम्रोसँग काम गरेको वा नगरेको भन्नेबारेमा केन्द्रिय नेताहरुले निरीक्षण गरिरहनुपर्ने बताउनु भयो ।










