काठमाडौँ । पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेकी छन् ।
अख्तियारले श्रेष्ठ सँग बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु गरिएको थियो ।
घुस अडियोको छानविनको सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बोलाएको हो ।
निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।
तत्कालिन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटिएको अख्तियार स्रोत बताउँछ । श्रेष्ठ मात्रै नभई उनको नीजि सुरक्षा अधिकृत(पीएसओ)को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएको अख्तियारको दाबी छ ।










