८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग

गाथामग चहे्र पर्व मनाउँदै नेवार समुदाय

गाथामग चहे्र पर्व मनाउँदै नेवार समुदाय
अ+ अ-

भादगाउँ । साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेषगरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा पनि लिइन्छ ।

नेवार समुदायले हर्षोल्लासका साथ मनाउने गाथामग चह्रे नेवार समुदायको मौलिक पर्वमध्येको एक हो । वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र महाशिवरात्रि चतुर्दशीमध्ये नेवार समुदायले मात्र पर्वका रूपमा मनाउने भएकाले घण्टाकर्ण चतुर्दशीलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरेको बाराही मन्दिरका पुजारी लक्ष्मीनारायण कर्माचायले बताउनुभयो ।

गाथामग चह्रेको पूजा विधिपूर्वक गरे घरमा पितृदोषबाट मुक्त भई शान्ति कायम हुने र परिवारजनमा कुनै दानवी शक्तिको प्रभाव नपर्ने जनविश्वास छ । यसै विश्वासअनुरुप नेवार समुदायले गाथामग चह्रेमा बिहानै घरलाई लिपपोत गरी शुद्ध बनाउनुका साथै महादेव वा नायरायणको मन्दिर पुगेर जल ल्याई घरको सम्पूर्ण भागमा छर्केर चोखो बनाउने चलन छ । घर चोखो गर्न अगाडि दैनिक जीवनमा प्रयोग भइरहेका सम्पूर्ण भाँडाकुँडा धोएर चोखो गर्छन् । जल नछर्केसम्म कसैले खान नहुने धार्मिक मान्यता छ ।

घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूतप्रेत मन्छाउने कार्य) गर्दछ । काँचो माटोको सानो दहीको कटारो वा सलिचा (एक प्रकारको माटोको भाँडा) मा चिउराको ढुटो, जाँडको कट, लसुन, रगत, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर घरको मूलढोका अगाडि कुमार र टोल बाहिरको दोबाटो वा चौबाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात् भूत पन्छाउने कार्य भनिन्छ । बौ वाय् ज्या गर्दा कोहीले कुखुराको बलिसमेत दिने परम्परा छ ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूलढोका र मुख्य निदालमा पञ्चरङ्गी मयुरको प्वाँख र तीनखुट्टे फलामको किला ठोक्ने चलन छ । यसले घरमा भूतप्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको स्थानीय बलराम प्रजापतिले बताउनुभयो । घरका साना केटाकेटीलाई खुट्टामा फलामको कली (एक प्रकारको गहना), तामाको औँठी लगाइदिने चलन पनि छ । वयस्क युवतीले आजको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने र फलामको औँठी लगाउने चलन छ ।

त्यसैगरी साँझपख घरघरबाट छ्वाली प्वाः वायगु ज्या ९छ्वालीको मुठा फाल्ने कार्य० गरिन्छ । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म धुवाँ जानेगरी परिक्रमा गराई छ्वास अर्थात् नेवार समुदायको मानिस मर्दा मृतकको लुगा फाल्ने ठाउँमा लगेर सेलाउने गरिन्छ । यस दिन नेवार समुदायमा घरका सम्पूर्ण झ्यालढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जाँै, तोरीको गेडालगायतका वस्तु राखेर गोवरले लिप्ने गरिन्छ ।

गाथामग चहेको साँझ बच्चा भूतदेखि नडराऊन्, रुन्चे नलागोस् भनी टोलटोलमा रहेको छवासमा गथामुगलाई आगो तपाएर तीन चकर लगाइसकेपछि सो आगोमा घुमाइघुमाई तपाउने गरिन्छ । गाथामगको दहनसँगै लामखुट्टेको एउटा दाँत भाँचिन्छ भन्ने जनविश्वास रहिआएको छ । गथामग पर्व मनाउन घरआँगन सबै सफा गर्ने भएको हुँदा लामखुट्टेको सङ्ख्या कम हुने र लामखुट्टेको टोकाइसमेत कम हुने भएकाले लामखुट्टेको एउटा दाँत भाँचिने मान्यता विकसित भएको संस्कृतिकर्मीहरूको भनाइ छ ।

गाथामग चह्रेकै अवसरमा टोलवासीले नर्कट र छ््रवालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई चोकचोकमा ठड्याएर राखिन्छ । सँगसँगै बच्चालाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइन्छ । साँझपख छवाली बालेर बाजागाजाका साथ राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई नजिकको खोलापारि, दोबाटो, चौबाटो र नगरबाहिर लगेर जलाइन्छ । जलाएर फर्केपछि गाईजात्रा सुरु भएको जनाऊ दिँदै घिनताङघिसी तालमा नाचेर आउने परम्परा छ ।

यस पर्वलाई किसानको ‘सिनाज्या ब्यंकेगु’ (रोपाइँ कार्य सम्पन्न भएको) र चाडपर्वको सुरुआट भएको पर्वका रूपमा लिने गरिन्छ । नेवार समुदायमा घण्टाकर्ण चतुर्दशीका अवसरमा रोपाइँ सकेपछि घर सफा गर्ने, हिलो पखाल्ने पर्वका रूपमा सिनाज्या ब्यंकेगु पर्व मनाउने परम्परा पनि रहिआएको छ । नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्ष अघिदेखि यो पर्व मनाउँदै आएको उहाँले बताउनुभयो । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वका रूपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठ बताउनुभयो ।

लोककथनअनुसार घण्टाकर्ण भगवान् विष्णुका भक्त थिए । उनी केवल भगवान् विष्णुको मात्र पूजा गर्दथे । एक दिन भगवान् विष्णुले शिव र आफू एउटै भएकाले शिवको पूजा गर्नुभन्दा घण्टाकर्ण मानेनन् तब विष्णुले ‘हरि र शङ्कर’ एउटै हो भनेर देखाउन ‘हरिहर’को दर्शन दिए, जसमा आधा विष्णु थिए भने आधा शिव । तैपनि घण्टाकर्ण सन्तुष्त हुन सकेनन् । उनी बाहिर निस्केका बेला मानिसहरूले शिवशिव भनेर जिस्क्याउँथे, सुन्नु पर्ला भनेर उनले आफ्नो कानमा ठूलाठूला घण्ट झुण्ड्याएर हिँड्थे । कसैले शिवको नाम लिनेबित्तिकै कानको घण्टा जोडजोडले बजाउँथे । त्यसैले यसलाई घण्टाकर्ण भनिएको किंवदन्तीमा उल्लेख छ ।

कानमा घण्टा झुण्ड्याएर हिँड्ने घण्टाकर्णको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । पौराणिक कथनअनुसार महाभारतकालमा कृष्ण र वाणासुर राक्षसको युद्ध हुँदा वाणासुर राक्षसले कृष्णलाई हराउन महादेवको सहयोग माग्दछन् । शिवभक्त वाणासुरको पुकार सुनेर महादेवले वाणासुरलाई सहयोग गर्ने वचन दिन्छन् । तर कृष्णसँग युद्ध गर्न महादेवलाई नैतिक सङ्कट परेपछि उनले घण्टाकर्णको रुप धारण गरेको पौराणिक कथन रहेको संस्कृतिविद् प्र्रा डा श्रेष्ठले बताउनुभयो ।

गाथामग पर्वको दिनदेखि नै नेवार समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउने कार्यको थालनी गरिन्छ । नेवार समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रूपमा लिने र सो दिनदेखि घण्टाकर्णसम्म धान रोपाइँ सक्नुपर्ने भएकाले कुनै पनि धार्मिक महत्वको कार्य नगर्ने परम्परा छ । नेवार समुदायले गाईजात्राका बेला नौ दिन आठ रात प्रदर्शन गरिने विभिन्न बाजागाजा, भैरवनाच, माक प्याखं, देवी प्याखं, भालुचा प्याखं, नागाचा प्याखं, मयुर प्याखं, खिचा प्याखं, लुसिचा प्याखं, रामायणलगायत व्यङ्ग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत घण्टाकर्ण पर्वदेखि सुरु गरिन्छ ।

भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको लागि घण्टाकर्ण चतुर्दर्शीकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ । यस दिन नवदुर्गा जात्राका सबै देवगणहरू महादेव सिद्ध गर्न याछेंस्थित नवदुर्गाको मुखुण्डो बनाउने चित्रकारकहाँ गई ख्वपा बनाउने विषेश पूजाकोठामा कालो माटोले चित्रकारले महादेवको प्रतीक बनाई मुखुण्डोको शुभारम्भ गर्छन् । यस कार्यपछि महादेवको प्रतिमामा देवगणले दुईवटा भाले बलि दिई विधिवत पूजा गर्छन् । पूजा सम्पन्न गरेपछि कुखुराको मासु राखेर सबै देवगण र चित्रकार बसेर समेबजी खान्छन् ।

खाइसकेपछि नवदुर्गा देवगृह फर्केर तालाक्वस्थित हाकुज्याक अर्थात् नायोकु नामक समूहको प्रजापतिहरूको गुठीघरमा जाने परम्परा छ । त्यहाँ पुगेपछि गुठीघरमा हाकुज्याकका थकाली ९मुख्य नाइके०को हातमा भैरव बन्ने देवगणले ओम वा स्वस्तिक चिह्न लगाई एउटा सिक्का र दुईवटा चाँडी सानो सिक्काजस्तो देखिने पाता बैनाका रूपमा दिई नवदुर्गा गणलाई चाहिने सम्पूर्ण माटोको भाँडा बनाउन आग्रह गर्ने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायण वनमालाले जानकारी दिनुभयो । यो कार्य सकेपछि सबै जना समेबजी खाएर नवदुर्गा देवगण देवगृह फर्किन्छन् । यसै दिनदेखि देगणहरु कुन देवीदेवता बन्ने हो त्यो शक्तिपीठमा गई तान्त्रिकपूर्वक पूजा गर्ने परम्परा रहेको सल्लाहार बनमालाले बताउनुभयो ।

घण्टाकर्ण चर्तुदशीका दिन भक्तपुरको वाखुपति नारायण, तिलमाधव नारायण, लोकेश्वर मन्दिर, दत्तात्रय मन्दिर, यातु महादेव, दिपङ्कर बुद्धलगायत नगरका शक्तिपीठ ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरवनाथ र तलेजुको मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्छ ।