काठमाडौं । मन्त्रिपरिषद् बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका नेता शेखर कोइरालाको चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारी र कोइरालासँग जोयिडएर भएका राजनीतिक गतिविधिकाबारेमा मन्त्रिपरिषद्मा ब्रिफिङ गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले भण्डारीसँग आइतबार भएको भेटका विषयमा पनि चर्चा गर्नुभएको थियो । उहाँले केही व्यक्तिले भण्डारीलाई सक्रिय राजनीतिमा आउन उकासेको र बढी प्रचारबाजी गरेको बताएका थिए ।
‘उहाँसँग निकै नै राम्रो छलफल भयो । उहाँलाई ज–जसले उकास्दै आएका छन् । आजदेखि त्यो पनि बन्द भएको छ । हामी दुवै जना आजदेखि ’क्लियर’ भएका छौं,’ बैठकमा प्रधानमन्त्री ओलीले भन्नुभयो । पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने कि नफर्किने विषयमा भने प्रधानमन्त्री ओलीले स्पष्टरुपमा खुलाउनुभएन ।
बैठकमा नेपाली कांग्रेस नेता शेखर कोइरालाको विषयले पनि मन्त्रिपरिषद् बैठकमा प्रवेश पाएको थियो । प्रधानमन्त्री ओलीले कोइरालाले संसदमा गणितीय अभ्यास गर्न खोजे आरोप लगाउनुभएको थियो । तर, कोइरालाको प्रयास सम्भव नहुने उहाँको भनाइ थियो ।
कोइरालाले केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटवार्ता गर्नुभएको थियो । त्यसपछि भण्डारीसँग पनि उहाँले राजनीतिक विषयमा छलफल गर्नुभएको थियो । आइतबारमात्रै कोइरालाले आफू पक्षीय सांसदहरूसँग एक होटलमा छलफलमा गर्नुभएको थियो ।










