१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुलाईको पलेँटीमा सङ्गीतकार न्ह्यू बज्राचार्य



अ+ अ-

काठमाडौँ । अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरशालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेंटीमा यस पटक प्रसिद्ध साङ्गीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन् । यही महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) आयोजना हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधानको गायनले साथ दिनेछ ।

 यसपालीको कार्यक्रमलाई कवि तथा गीतकार विप्लव प्रतीकले संचालन गर्ने कुरा पलेँटी संयोजन गर्दै आएका सङ्गीतकार आभासले जानकारी गराएका छन् ।

 पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । जुलाई महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार न्ह्यू बज्राचार्य र बानिका प्रधान पलेँटी टीमसँग अभ्यासमा धमाधम जुटिरहेका छन् ।

 न्ह्यू बज्राचार्य नेपाली साङ्गीतिक जगतका श्रोतादर्शक बीच स्थापित नाम हो । उनले धुन भरेका अनेकौं गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् । खासगरी बज्राचार्यले धुन भरेका- फूलको आँखामा‘, ‘नआऊ सपनाभरि‘, ‘अरबौं मान्छेरुमा‘, ‘लैजा चरी‘, ‘सयथरि बाजा‘ लगायत अनेकौं गीतलाई नेपाली श्रोता जगतले अत्यधिक रुचाएका छन् ।

नेपाली गायनकी अग्रज स्वर-शिल्पी अरुणा लामाले गाएको यो मन त तलाउ होलाई पनि बज्राचार्यले धुन भरेका हुन् । बज्राचार्यसँग गायक बच्चु कैलाशका निम्ति सङ्गीत रचेको अनुभव समेत रहेको छ । 

यसपालीको पलेँटी बारे कार्यक्रम संयोजन गर्दै आएका सङ्गीतकार आभास भन्छन्- न्ह्यू बज्राचार्य नेपाली सङ्गीतमा लामो समयदेखि क्रियाशील सिद्धहस्त सङ्गीतकार हुन् । उनका सृजनाले नेपाली सङ्गीतमा भिन्दै स्वाद स्थापित गरेका छन् । लोकप्रिय सर्जक न्ह्यूलाई पलेँटीमा निम्त्याउन पाउँदा मलाई साह्रै आनन्द अनुभूत भएको छ ।

 पहिलोपल्ट पलेँटीमा सहभागी हुँदै गरेका सङ्गीतकार न्ह्यू भन्छन्- नेपाली आधुनिक सङ्‌गीतलाई अहिलेका श्रोताहरूसँग कनेक्ट गर्ने ब्रिजको रूपमा पाउँछु म पलेँटीलाई । यस मञ्चमा यसपाली हुने मेरो प्रस्तुतिलाई स्मरणीय बनाउन मेरो पुरा कोशिश रहनेछ ।‘ आफ्नो प्रतिक्रियापछि उन्मुक्त हाँसोकासाथ गीटारमा आफ्ना औंलाहरू कुदाउछन् न्ह्यू ।

 यसपालीको पलेँटी संचालनका निम्ति छेउमा बसेर रिहर्सल निहारिरहेका कवि तथा गीतकार विप्लव प्रतीक भन्छन्- कुनै शहर कतिको जीवन्त छ भन्ने कुरा त्यहाँ गुञ्जिने समकालीन सङ्‌गीतमा पनि निर्भर हुन्छ । त्यस पुण्य कामलाई २० वर्षदेखि  निरन्तरता दिइरहेको छ पलेँटीले । मलाई विश्वास छयसपाली पलेँटीमा हुने न्ह्यू बज्राचार्यको प्रस्तुति स्मरणीय रहनेछ ।

 पलेँटी टिमसँग पहिलोपल्ट गीत अभ्यास गरिरहेकी बानिका प्रधान भन्छिन्- असंख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ । धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो । मसँग पलेँटीको दर्शक भएको अनुभव छ । तर यसपाली भने आफैँलाई गाउने मौका जुर्‍यो । साह्रै आनन्दित छु ।‘ खुशी हुँदै हाँसो गुञ्जाउछिन् उनी र निर्देशनमा जुटिरहेका सङ्गीतकार न्ह्यूसँग स्वरमा स्वर मिलाउन थाल्छिन् ।

 पलेँटी कार्यक्रम यही जुलाई महिनाको अन्तिम शुक्रबार२५ र २६ तारिखशनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको आरसालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np  मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।