१ भाद्र २०८३, सोमबार
,
Latest
लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर…
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका विभिन्न स्थानमा भारी वर्षा मापनः कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा



अ+ अ-

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ ।

यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ । यी चार स्थानमा अतिभारी वर्षा मापन भएको विभागले जनाएको छ । अन्य धेरै जिल्लामा भारी वर्षा भएको छ ।

पूर्वी नेपालमा बढी वर्षा भएको जानकारी दिँदै विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा गराउने प्रणाली सर्दै आएको जानकारी दिनुभयो । भोलिसम्म यो अवस्था रहने र विस्तारै हट्दै जाने पनि उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ । यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो ।

अन्य भारी वर्षा भएका जिल्लामा सिन्धुपाल्चोक, कास्की, पर्वत, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापामा पनि पछिल्लो २४ घण्टामा भारी वर्षा भएको छ । अन्य केही पहाडी जिल्लाका पहाडी क्षेत्रमा पनि भारी वर्षा भएको विभागले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पर्वत जिल्लास्थित मोदीखोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्नेहरूलाई सावधानी अपनाउन अनुरोध गरिएको छ ।

यसैगरी बिहान इलामको कन्काइ मैनाचुलीमा पनि जलसतह सतर्कता तह आसपास पुगेको थियो । सुनसरीको सार्दुल खोलामा पनि जल सतहले सतर्कता तह पार गरेको थियो । सुनसरीको बूढीखोला दुहबी जलमापन केन्द्रमा राति १ः२० बजे भने जलसतहले खतराको तह नै पार गरेपछि साइरन बजेको थियो ।