६ श्रावण २०८३, बुधबार
,
Latest
मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयको तीन विकल्प तयार



अ+ अ-

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना संक्रमणको कारण स्थगित एसईई, कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न तीन विकल्प तयार गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले केही दिनअघि एक साताभित्र परीक्षाको मिति तय गर्ने भनिरहँदा तीन विकल्प तयार भएको हो । प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, स्थानीय तह र विज्ञसहितको रायको आधारमा तीन विकल्प तयार पारिएको हो । सरकारले तयार गरेको पहिलो विकल्पका रूपमा प्रदेश सरकारले परीक्षा सञ्चालन गर्ने, दोस्रो स्थानीय तह र तेस्रो विकल्पका रूपमा आन्तरिक मूल्यांकनको आधारमा लब्धाङ्कपत्र उपलब्ध गराउने रहेको छ । मन्त्रालयले यो विकल्प एसईई र कक्षा ११ मा मात्र लागू हुने बताएको छ । विद्यालय तहको कक्षा १२ को अन्तिम परीक्षाको कक्षा १२ को बोर्ड परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने गरी विकल्प तयार गरिएको छ । लकडाउनका कारण परीक्षा स्थगित भएपछि झन्डै १४ लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सबै विकल्पको विषयमा छलफल भइरहेको बताए । उनले भने– ‘सबै सरोकारवालासँग सल्लाह गरेर विभिन्न विकल्पका बारेमा छलफल गरिरहेका छौं, कुन विकल्प उचित हुन्छ सोहीअनुसार परीक्षा लिने गरी तयारी गर्नेछौं ।’

सरकारले तयार गरेको विकल्पमध्ये आन्तरिक मूल्यांकनको आधारमा लब्धाङ्कपत्र दिने विषय व्यावहारिक नदेखिने विज्ञहरू बताउँछन् । आन्तरिक मूल्यांकन कसरी गर्ने भन्ने विषय नै अन्योल छ । यही अवस्था भए एसईई र कक्षा ११ को परीक्षाको नम्बर विद्यार्थीको अनुहार हेरेर दिइने सम्भावना बढी रहेको बताइएको छ । यो विकल्पबाट परीक्षा लिँदा शिक्षा ऐन संशोधन गर्नुपर्ने हुन्छ । सबै विषयको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै विकल्पको विषयमा अध्ययन गरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ उच्चस्तरीय समितिमा पेस गर्ने र समितिले मन्त्रिपरिषद्मा पठाएर निर्णय गर्नुपर्ने व्यवस्था छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले सरकारले गरेको निर्णय मान्य हुने बताए । उनले भने– ‘तर, अहिलेकै अवस्थामा परीक्षा सञ्चालन गर्न जटिलता देखिएको छ । करिब ३ हजारभन्दा बढी विद्यालयमा क्वारेन्टाइनमा रहेकाले तत्काल परीक्षा लिन कठिनाइ उत्पन्न हुन्छ ।’ उनले जुन निकायले परीक्षा लिए पनि क्वारेन्टाइन भएको विद्यालयमा केन्द्र बनाउनुपर्ने हुन्छ, त्यसमा कसरी परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा अन्योल भएको बताए । यसअघि बोर्डका अध्यक्ष पौडेलको संयोजकत्वमा गठित समितिले सबै विकल्पको विषयमा अध्ययन गरी शिक्षामन्त्री पोखरेललाई प्रतिवेदन बुझाएको थियो । यसअघि बोर्डले उपत्यकालगायत विभिन्न जिल्लामा उपकेन्द्र तयार गरी कम विद्यार्थी राखी हिँडेर दुई घण्टाको दूरीमा पुग्ने स्थानमा केन्द्रको व्यवस्थापन गरेको थियो ।

बोर्डले दुर्गम, पहाडी र हिमाली क्षेत्रसहित ४ सय ५० उपकेन्द्र थप गरिसकेको अध्यक्ष पौडेलले बताए । अब परीक्षा लिँदा भौतिक दूरी कायम गरी लिने व्यवस्था गर्न लागेको अध्यक्ष पौडेलले बताए ।सरकारले चैत ६ देखि एसईई, वैशाख ८ गतेदेखि १२ र २१ देखि कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको थियो । लकडाउनका कारण बोर्डको तालिका बिग्रिएको छ । मन्त्री पोखरेलले चाँडै मिति तय गरी परीक्षा लिने व्यवस्था गर्न लागेको बताए । नेपाल समाचारपत्र दैनिक




भर्खरै